किन दैनिक बढिरहेका छन् ,आत्महत्याका घटनाहरु ?
मानिसका विभिन्न इच्छा, चाहना अनि सपनाहरुको एउटा समग्र रुप नै मानविय जीवन हो भने आत्महत्या व्यक्तिको स्वनिर्णय पक्ष हो। मानिसको जीवन सोचेजस्तो सजिलो र सहजै तरिकाले अघि बढाउन केहि कठिन हुन सक्छ तर जीवनको गतिसँगै आईपर्ने विभिन्न चुनौतिलाई अवसरको रुपमा परिणत गर्न सक्ने एउटा बलियो शाहस र हिम्मत राख्नुपर्दछ साथै यसैगरी नै अघि बढ्न सकियो भने तपाई हामी सकारात्मक विचारको साथ पृथक जीवनको साथ अघि बढ्न सक्दछौँ।
पछिल्लो समय देशको बिग्रदो अर्थव्यवस्था , स्वार्थ केन्द्रित राजनीति व्यवस्था लगाएत विभिन्न कारणहरुले गर्दा विभिन्न पेसामा आबध्द व्यक्ति देखि लिएर सामान्य तहका नागरिकहरुले आर्थिक समस्याका कारण नै आफ्नो जीवनलाई मृत्युको बाटोतिर डोहोर्याएका छन।तपाई हामी समाजमा नै बस्छौँ। समाजबाट नै धेरै कुराहरुमा सहयोग पनि पाइरहेका हुन्छौँ। तर किन तपाई हामी त्यहि समाजबाट डराउछौ त ? यसको उत्तर तपाई हाम्रो सोचमा नै भर पर्दछ। तपाई हामी एउटै परिवारमा त फरक विचार भएका सदस्यहरु हुन्छौँ भने बाँकी समाज त बिभिन्न सदस्यहरु भएको परिवारको एउटा स्वरुप हो।
जहाँ विभिन्न बिचारधारहरु भएका व्यक्तिहरुको समिश्रण हुन्छ। त्यसैले यसैभित्र रमाउन र घुलमिल हुन सक्यौँ भने तपाईहामी बिच भएको पिडालाई केहि हदसम्म भएनि भुलाउन सक्छौ। यसकारण समाजमा हुने विभिन्न धार्मिक तथा सामाजिक कृयाकलाप, सन्देशमुलक कार्यक्रम तथा कृषि क्षेत्रतिर हुने मेलापात सङ्गै सामुहिक सहकार्य गर्ने प्रयास गर्नुपर्दछ।
कुनैपनि व्यक्तिले आ–आफ्नै विभिन्न प्रकारका व्यक्तिगत तथा पारिवारिक समस्या भोगिरहेको हुन्छ। त्यसैले आफ्नो नजरमा आफुलाई मात्र कमजोर अवस्थामा रहेको सोच्नु हुदैन समस्या सबैलाई हुन्छ र समस्या संगै समाधानको उपाय खोज्दै जानुपर्छ भन्ने मनोवलको शक्ति आफैमा पैदा गर्ने प्रयास गर्नुपर्दछ।
मानव जिवन नै यो संसारको सबैभन्दा उत्कृष्ट जीवन हो। भगवानले हामीलाई उपहार स्वरुप दिएको यो जीवनमा पर्दा पछाडि जस्तै सङ्घर्ष भन्ने शब्द पनि समावेश भएर आएको छ त्यसैले अवसर र चुनौतीको सामना गर्दै जीवनलाई रङ्गमय बनाउनुपर्दछ।मानिसको गतिशिल जीवनमा नयाँ नयाँ चुनौतिहरुको आगमन भईरहेको हुन्छ र तिनै चुनौति सङ्गै आउने परिस्थितिहरुले नै जीवन जिउने परिभाषा सिकाएको हुन्छ। तपाई हामी पनि व्यक्तिगत जीवनमा आउने समस्यालाई अन्य ब्यक्तिको सुखद यात्रासंग दाजेर होइन आफै समाधानको उपाय खोजेर अघि बढ्नुपर्दछ।
मानिसलाई निराशाले कमजोर बाटोतिर जान बाध्य बनाउछ भने आशावादि विचारले अझ सङ्घर्ष गरेर जीवनलाई अघि बढाउने हिम्मत र शाहस प्रदान गरेको हुन्छ।
जीवनलाई विभिन्न तबरले परिभाषित गर्न सकिन्छ “ जीवन सङ्घर्ष हो र सङ्घर्ष नै जिन्दगीको जिउने आधार हो” भन्ने विचारलाई आत्मसाथ गर्दै सकारात्मक विचार सहित सङ्घर्ष सङ्ग हार नमानी जीवनमा आउने जस्तोसुकै परिस्थितिलाई पनि डटेर सामना गर्न सक्ने सामर्थ्य निकाल्न सक्नु नै जिन्दगीको सार्थकता हो।
किन मान्छे आत्महत्याको बाटो रोज्छ ?
आत्महत्या एउटा विश्वमा नै क्रमिक रुपमा घटिरहने घटना हो। जहा विकशित मुलुकहरु पनि यो घटना बाट अछुतो छैनन्। लिथुनिया, रसिया, दक्षिण कोरिया जस्ता देशहरु आत्यहत्या हुने शिर्ष स्थानमा रहेका छन। देश तथा विदेशका चर्तित सेलिब्रेटीहरुबाट पनि यो घटना बारम्बार घटिरहेको समाचार आइरहेको हुन्छ।विशेषगरी आत्महत्या हुने प्रमुख कारणहरु भनेको गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, दिर्घकालिन रोग, बेरोजगारी, धुम्रपान तथा मादक पदार्थको अत्याधिक सेवन, लाज, डर, एक्लोपन तथा विभिन्न क्षेत्रमा हुने असफलताहरु रहेका हुन्छन ।आत्महत्या आफैमा रोगीले मात्र गर्ने घटना नभई जोसुकै व्यक्तिले जतिबेला पनि गर्नसक्ने एउटा दु:खत घटना हो।
पृथ्वीमा एउटा उपहार स्वरुप पाएको जीवनलाई डोरीको सहारा लिएर झुण्डिनु, विष सेवन गर्नु, नदिमा हामफाल्नु तथा आफैले छुरा हान्नु आफ्नो जीवनको समापन आफै गर्न खोज्नु मानिसको कायरता हो। पछिल्लो समय विश्व नै कोभिड – 19 बाट प्रभावित भइरहेको बेला हाम्रो जस्तो गरिब मुलकमा यो समस्या अझबढि उग्ररुपमा बढिरहेको छ त्यसैले यसलाई न्युनिकरण गर्नको लागि स्थानिय सरकार, प्रदेश सरकार तथा राज्य सजग हुन जरुरी देखिन्छ।
आत्महत्याको जोखिममा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने ?
वास्तवमा कुनै पनि मानिस यसै मर्न चाहदैँन उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पको रुपमा रोजेको बाटो आत्महत्या हो। हाम्रो समाजमा आत्महत्या गर्ने व्यक्तिलाई कायर, स्वार्थी, पापी र नालायक जस्ता शब्दहरुले प्रहार गर्ने गरिन्छ। आत्महत्या एउटा समस्याको परिणाम हो। यसको जोखिममा परेको व्यक्तिलाई गर्ने सबैभन्दा राम्रो सहयोग भनेको सहानुभुती र सुनाई हो। त्यस्ता व्यक्तिको भावना बुझि उसका केहि गोप्य कुरा तथा भावना प्रति संवेदनशिल भई बाँकी जिवनलाई सकारात्मक सोच बाट अघिबढाउने शाहस तथा धैर्यताको पाठ सिकाउनुपर्दछ।
आत्महत्याको समाधानमा तपाई हाम्रो भुमिकाआत्महत्या आफैमा एउटा जटिल समस्याको रुपमा स्थापित हुदैछ। यसलाई समाधान गर्न एक व्यक्ति तथा संस्थाले मात्र सम्भव हुदैन। त्यसैले देशका सम्पूर्ण शिक्षित युवावर्ग तथा देशमा भएका अंगहरु, सरकारको माथिल्लो तहमा रहेर नीति निर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यन्वयन गर्ने स्थानीय सरकार, समाजका बुद्धिजिवी सर्कल लगायत स्वास्थ्य, शिक्षा, सञ्चार तथा राजनीतिज्ञ क्षेत्रबाट उचित समन्वयन र सहकार्यका साथ एकजुट भई अघि बढ्न जरुरी छ।
✍️लेखक मोहन कुँवर गुल्मीको सत्यवति गाउँपालिका –२, चेहेमी हुन् । कुँवर रोजगारीको शिलसिलामा हाल जापानमा छन् )