गुल्मी जिल्लामै पहिलोपटक छत्रकोटमा जिपलाइन



गुल्मी – गुल्मी जिल्लामै पहिलोपटक छत्रकोट गाउँपालिकाले पर्यटन प्रबर्द्धन गर्ने साहसिक खेल जिपलाइन निर्माण गरेको छ। छत्रकोट गाउँपालिका–३ को छत्रकोट देवालय मन्दिरदेखि देवी भगवती मन्दिर लुम्छासम्म पुग्ने गरेर जिपलाइन निर्माण गरिएको हो।

यस चालु आर्थिक वर्षमा निर्माणको कार्य सम्पन्न भएलगत्तै आगामी शुक्रबार जिपलाइनको उद्घाटन गर्ने गरी गाउँपालिकाले तयारी गरिरहेको जनाएको छ। बुधबार गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जिल्लाका १२ स्थानीय तहमध्ये पर्यटकका लागि छत्रकोट पनि महत्वपूर्ण गन्तव्य रहेको बताए।

गाउँपालिकाभित्र केही धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले यस क्षेत्रको पर्यटन विकासका लागि पालिकाले साहसिक खेल जिपलाइन निर्माण गरेको उनको भनाइ छ। जिपलाइनको १ हजार ८० मिटर लम्बाइ र ६७ मिटरको उचाइ छ। जिपलाइनमा औसत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौलअनुसारको गति रहने बताइएको छ। छत्रकोट देवालय मन्दिरको सुरु स्टेसनदेखि ल्याडिन्ङ हुने देवी भगवती मन्दिर स्टेसनसम्म पुग्न अधिकतम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान गरिएको छ। जिपलाइन छत्रकोट गाउँपालिकाले निर्माण गरे पनि यो जिल्लावासीको साझा सम्पत्ति रहेको अध्यक्ष पाण्डेले उल्लेख गरे।


Advertisement

‘जिपलाइनलाई जिल्लाकै सम्पत्तिका रूपमा राखेर जिल्लाभर पर्यटन प्रबद्र्धनका लागि टेवा पु¥याउने हामीले लक्ष्य राखेका छौं’ ‘गाउँपालिका अध्यक्ष पाण्डेले भने, ‘स्थानीय पर्यटन विकासका लागि गाउँपालिकाले ‘रुरु रेसुंगाको धार्मिक आस छत्रकोटमा बसौं बास’ नारासहितको कार्यक्रम नै सञ्चालन गरेका छौं।’

  •     छत्रकोट गाउँपालिका–३ को छत्रकोट देवालय मन्दिरदेखि देवी भगवती मन्दिर लुम्छासम्म पुग्ने गरेर जिपलाइन निर्माण गरिएको हो।

  •     जिपलाइन १ हजार ८० मिटर लम्बाइ र ६७ मिटर उचाइको छ।

जिपलाइन निर्माणको कुल ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागत रहेको छ। लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपूरक बजेटमा जिपलाइन निर्माण गरिएको हो। जिपलाइन सानु सेती देवी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कम्पनीले निर्माण गरेको हो।

जिपलाइन चढ्नका लागि शुल्कसमेत निर्धारण गरिएको छ। जसमा गाउँपालिकावासीहरूको लागि चार सय रुपैयाँ, विद्यार्थीको लागि तीन सय रुपैयाँ, अन्य गाउँपालिकाका नागरिकको लागि पाँच सय रुपैयाँ र विदेशी नागरिकको लागि १५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिए। जिपलाइन सञ्चालनका लागि तीन जना स्थानीय र दुई जना नगर प्रहरी गरेर पाँच जनालाई बाह्रदिने तालिम प्रदान गरिएको छ। जिपलाइन चढ्ने प्रत्येक साहसिक पर्यटकको १० लाखबराबरको दुर्घटना बिमा गरिएको प्रशासकीय अधिकृत पुरीले बताए।

गाउँपालिकाले निर्माण गरेको जिपलाइन निजी क्षेत्रलाई सञ्चालन गर्न जिम्मा दिने तयारी पालिकाले लिएको गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले बताइन्। उनले यो जिपलाइन जिल्लाकै पहिलो र नौलो भएकाले यसमा चढ्ने साहसिक पर्यटकको चाप बढ्ने गाउँपालिकाले अपेक्षा लिएको बताइन्। जिपलाइनले विभिन्न धार्मिक पर्यटकलाई साहसिक खेलमा जोड्न मद्दत पुग्नेछ।

जिपलाइन चढ्ने पर्यटकले लुम्छाबजार, बेंसीफाँटका साथै मनमोहक हिमशृंखलाको अवलोकनसमेत गर्न पाउनेछन्। गाउँपालिकाको छत्रकोट देवालय मन्दिर धार्मिक र पिकनिक स्पष्ट भएकाले पनि यहाँ सयौंको संख्यामा दैनिक मन्दिरको दर्शन र वनभोज खान पुग्ने गर्छन्। यसको माध्यमबाट पनि जिपलाइन सञ्चालनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.