सामाजिक सञ्जालमा उठेका आरोपमाथि मुसिकोटको स्पष्टिकरण
गुल्मी – पछिल्ला केही दिनयता गुल्मीको मुसिकोट नगरपालिका र नगर प्रमुखमाथि केन्द्रित भएर सामाजिक सञ्जालमा लगातार गरिएका आलोचना र टिप्पणीहरूप्रति नगरपालिकाले आधिकारिक धारणा सार्वजनिक गरेको छ । शनिबार वामीटक्सारस्थित नगर कार्यपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नगरपालिकाले सामाजिक संजालमा आएका सम्पूर्ण बिषयको आधिकारिक धारणा दिइएको हो । सवारी साधन प्रयोग र इन्धन खर्चका विषयमा उठाइएका प्रश्नहरूलाई समेत नगरपालिकाले तथ्यसहित खण्डन गरेको छ ।
मसिकोट नगरपालिकासँग एक सरकारी गाडी रहेको बताउँदै नगरप्रमुख जीवलाल खरेल (जीवन)ले कार्यालयको आवश्यकता अनुसार गाडी भाडामा लिइनु मितव्ययी अभ्यास नै भएको उल्लेख गरेका छन् । उनले नगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवकहरू निरन्तर सेवा प्रवाहमा खटिरहे पनि अनावश्यक मानमर्दन गर्ने नियतका हल्लाहरू सामाजिक संजालमा फैलिएको बताए । यस नगरले विभिन्न पूर्वाधार, सामाजिक, आर्थिक र वातावरणीय योजनाहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको र हाल नीति तथा बजेट निर्माणको चरणमा रहेको बेला असंगत र तथ्यहीन आलोचनाहरू आएकोमा नगरप्रमुख खरेलले दुःख व्यक्त गरे ।
आफूहरु नगरवासीको सेवामा समर्पित रहेकाले यस्ता सामाजिक संजालमा आएका झुटा प्रचारबाट विचलित नहुने बताउँदै उनले तथ्यहीन टिप्पणीको पछि नलाग्न सबै नगरवासीलाई आग्रह समेत गरेका छन् ।एकैदिन अगाडी नगरप्रमुख खरेलले एकै दिन ५ सय ४० लिटर (डिजेल) इन्धन सवारीमा प्रयोग गरेको भन्दै सामाजिक संजालमा आलोचना भएको थियो । इन्धन दुरुपयोगका बिषयमा मुसिकोट नगरपालिका वडा नम्बर –२ का वडाध्यक्ष रविन्द्र केसीले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए । उक्त बिषय बाहिर आएपछि नगरपालिकामा हंगमा नै मच्चिएको थियो । त्यस बिषयलाई लिएर नगरबासीदेखि देश विदेशमा नगरप्रमुख र नगरपालिकामा जनप्रतिनिधिबाटै लुटतन्त्र भएको भन्दै व्यापक आलोचना भएको थियो ।
नगरपालिका भित्र आवश्यक कामका लागि प्रयोग गरिएको इन्धनको विवरण महालेखा नियन्त्रकको कार्यालयबाट संचालित सार्वजानिक सम्पत्ति व्यावस्थापन प्रणालीमा प्रविष्टि भएपछि मात्रै इन्धन उपलब्ध गराउनु पर्ने प्रावधान रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । चालू आर्थिक वर्षको साउन १ गतेदेखि असोज १० गतेसम्म ५ सय ४० लिटर (डिजेल) इन्धन प्रयोग भएको तर, उक्त प्रणाली प्राविधिक कारणले संचालन नहुँदा असोज १० गते एकैदिन प्रविष्टि गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले दाबी गरे । सार्वजानिक सम्पत्ति व्यावस्थापन प्रणालीमा प्रविष्टि नहुँदा कर्मचारीबाट पनि केही मानवीय त्रृटि भएको उनले स्वीकार गरे ।
नगरपालिकाको कामका लागि अन्य सावारी आवश्यक परेमा भाडामा लिएर काम गर्दै आइरहेको उल्लेख प्रशासकीय अधिकृत गिरीले गाडी र इन्धन प्रयोगसम्बन्धी विवरण नियमानुसार सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (एब्ःक्) मा प्रविष्टि गरिदैं आएको बताए । नयाँ गाडी खरिद गर्दा लाग्ने खर्च र त्यससँग सम्बन्धित मर्मत, चालकको तलब र इन्धन खर्च उच्च हुने भएकाले गाडी भाडामा लिएर काम गर्नु बचतको उपाय रहेको नगरपालिकाले जनाएको छ ।
नगपालिकाले शनिबार नै नगर प्रवक्ता हरिहर सापकोटाद्धारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति नै सार्वजानिक गरेको छ । नगर प्रवक्ता सापकोटाले सामाजिक सञ्जालमा तथ्य बङ्गयाएर भ्रम फैलाउने उद्देश्यप्रति गम्भीर आपत्ति जनाउँदै वास्तविक जानकारी सार्वजनिक गरेका हुन् । सापकोटाले एक पदाधिकारीले एकै दिन फरक–फरक स्थानमा गाडी प्रयोग गरेको आरोप पनि तथ्यहीन भएको बताएका छन् । उक्त सवारी सिफारिसका आधारमा अन्य कर्मचारी वा जनप्रतिनिधिका लागि प्रयोग गरिएको हो भन्ने प्रेस विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
सापकोटाले नगरप्रमुख वा अन्य पदाधिकारीले गाडीको व्यक्तिगत प्रयोग मात्र गरेको भन्ने आरोपलाई अस्वीकार गर्दै सवारी सिफारिसका आधारमा अन्य शाखा वा कर्मचारीहरूद्वारा प्रयोग गरिएको स्पष्ट पारेका थिए । नगरपालिकाले देश–विदेशमा रहेका नगरबासी, शुभेच्छुक, सञ्चारकर्मी तथा सकारात्मक सन्देश प्रवाह गर्ने प्रेस समुदायप्रति आभार समेत प्रकट गरेको छ ।