छिमेकसँग सीमा समस्या संवादबाटै समाधान गर्ने सरकारी सन्देश
नेपालले सीमा विवाद वार्ताकै माध्यमबाट समाधान गर्न चाहेको कुरा दोहोर्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्मा सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सीमा विवादको समाधान कूटनीतिक सम्वादमार्फत खोजिनेछ ।’
सरकारले २० वैशाखमा लिपुलेक पासको सन्दर्भलाई लिएर भारत र चीनलाई पत्राचार गरेको थियो । दुबै छिमेकीलाई एक हप्ता पहिले मात्र कूटनीतिक नोट पठाएको पृष्ठभूमिमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा परेको यस्तो वाक्यांश अर्थपूर्ण हुने जानकारहरू बताउँछन् ।
गत चैतमा नवौं हिन्द महासागर सम्मेलनमा भाग लिन मोरिसस गएका बेला परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी एस.जयशंकरलाई भेटेका थिए । त्यतिबेला दुबै पक्षले संवाद सौहार्दपूर्ण भएको प्रतिक्रिया दिएका थिए ।
एक महिना अघिको तुलनामा दिल्लीसँगको सम्बन्धमा चिसोपन आएको कतिपयको आशंका छ । आफ्नो भूमि लिपुलेक पास हुँदै भारत र चीनले तीर्थालु आवतजावत गर्ने घोषणा गरेपछि नेपालले कूटनीतिक नोट पठाएको थियो ।
त्यही विषयलाई लिएर सम्बन्धमा फरकपन आएको हुनसक्ने विश्लेषकहरूको बुझाई देखिन्छ । नेपालले पत्र पठाएको एक हप्तामा भारतको विदेश मन्त्रालयले दुई पटक प्रतिक्रिया जनायो । बेइजिङले भने सार्वजनिक रुपमा टिप्पणी गरिसकेको छैन ।
‘यस्तो अवस्था आउनुमा नेपालको कमजोरी छैन । छिमेकीहरूले चोट दिँदा नेपालले ऐंयासम्म भनेको हो,’ पूर्वराजदूत नीलाम्बर आचार्य भन्छन, ‘विवादको सुरुआत उतैबाट भएको हो ।’
नेपालले सन् १८१६ को सुगौली सन्धि लगायतका आधारमा लिम्पियाधुरा पूर्वका भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ ।
२०७७ सालमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यहीअनुसार नेपालले आफ्नो नयाँ नक्सा ‘चुच्चे नक्सा’ जारी गर्यो ।
२०७६ मा सर्वे अफ इण्डियाले निकालेको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग भारततिर देखाइएको थियो । त्यसपछि सरकारले कूटनीतिक नोट पठाएर पटक पटक सम्वादका लागि गरेको आग्रहलाई भारतले अस्विकार गरेको थियो ।
त्यसपछि आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै उल्लेख गरेर नेपालले नयाँ नक्सा निकालेको थियो ।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमबाट नेपालले वार्ता र संवादको विकल्प छैन भन्ने सन्देश दिन खोजेको जानकारहरू बताउँछन् । एक हिसाबले यो पुरानै नीतिको निरन्तरता पनि हो ।
सीमा विवाद नयाँ समस्या होइन । यस्तो विषय टुंगिन लामो समय लाग्न सक्दछ । तर छिमेकीहरूसँगको सम्बन्धलाई सीमानामा भएको विवादको आयामबाट मात्र हेर्न नहुने विज्ञहरू बताउँछन् ।
पूर्वपरराष्ट्रमन्त्री कमल थापा भन्छन्, ‘सीमा समस्या कूटनीतिक पहलबाट समाधान नगरी नहुने विषय हो । यसका लागि निरन्तर प्रयासको खाँचो छ । तर त्यही कुरालाई देखाएर छिमेकहरूसँगको सम्बन्धलाई बन्धक बनाउनु हुँदैन ।’



