मालिका गाउँपालिकामा एमाले पार्टीद्वारा १७ बुँदे ज्ञापनपत्र
गुल्मी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालिका गाउँपालिका गाउँ कमिटी गुल्मीले गाउँपालिका अध्यक्षलाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । मंगलबार मालिका गाउँ कार्यपालिकाको कार्यालयमा पुगेर गाउँ कमिटी अध्यक्ष शोभाखर गिरीले गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याललाई स्थानीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा स्थानीय सरकारबाट छनौट गरिने योजना टुक्रे र वितरणमुखी रहेको, पारदर्शिता र जनसहभागिता नहुनुका कारण जनतामा निराशा बढेको उल्लेख गरिएको छ। साथै, आसेपासे र शक्तिशालीको प्रभावमा योजनाहरू छनोट गरिएकाले विपन्न तथा सीमान्तकृत समुदाय विकासका अवसरबाट वञ्चित भएको दाबी गरिएको छ ।
योजनाहरू ‘डोजरे विकास’मा आधारित रहँदा जनजीवन प्रभावित भएको,अनुदान, सामग्री वितरण, तथा खरिद प्रक्रिया अपारदर्शी र पक्षपातपूर्ण रहेको,उत्पादनमुखी अनुदान कार्यक्रम बन्द गरी कमिसनमुखी योजना वितरण गरिएको,जनप्रतिनिधिहरू नै अनुदान सामग्री खरिद गर्न दौडनु अवैधानिक भएको,बाँदर, बँदेल नियन्त्रण तथा रोजगारी सिर्जना कार्यक्रम अलपत्र परेको,प्रशासनिक खर्च, सवारी, इन्धन, अतिथि सत्कार लगायतमा अत्यधिक खर्च भएको,सेवा प्रवाह झारा टार्ने शैलीमा र जनउत्तरदायी नभएको,कर्मचारी, शिक्षक, सहकारीहरूमा राजनीतिक पूर्वाग्रहसहित भर्ना, सरुवा, निष्कासन गरिएको लगायतका प्रमुख माग र आरोपहरू रहेका छन् ।
एमाले पार्टीले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न, पारदर्शिता कायम गर्न, सबै योजनाको सामाजिक परीक्षण र जनपृष्ठपोषणमा आधारित ढंगले संचालन गर्न जोडदार माग गरेको छ ।
गिरीको अध्यक्षतामा पेश गरिएको यो ज्ञापन पत्रले मालिका गाउँपालिकाको नेतृत्वमाथि राजनीतिक र प्रशासनिक दबाव सिर्जना गरेको छ । स्थानीयबासीले पनि पालिकाको कार्यशैलीप्रति गुनासो बढाउँदै आएका छन् । गाउँपालिकाले करार कर्मचारी निकाल्न थालेको र त्यी कर्मचारी हटेपछि पालिकाको प्रशासनिक तथा विद्यालयको शैक्षिक गुणस्तरमा समेत हानी हुने भएकाले त्यसलाई तत्काल रोक्न समेत पार्टीले गाउँपालिकालाई आग्रह गरेको छ ।
स्थानीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अबिलम्ब सुधार नगरेमा चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको छ । पार्टी गाउँकमिटी अध्यक्ष गिरीले तत्कालै गाउँपालिका भित्रका सबै वडामा पुगेर भएका कमिकमजोरी सहित सुधारका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय भएको बताए ।
एमाले पार्टीले दिएको ज्ञापन पत्र बुझ्दै मालिका गाउँपालिका उपाध्यक्ष अर्यालले गाउँपालिकाबाट केही त्यस्तो कमिकजोरी भएको भए त्यसलाई सच्याएर अगाडी बढ्ने प्रतिवद्धता गरे ।


























