घाँसखेती,बाख्रापालन र भैंसीपालनमै समृद्धि खोजिरहेका युवाहरु
" जिल्लाको इस्मा गाउँपालिका–३ का गोर्कण नेपाली, गुल्मीदरबार गाउँपालिका–६ का विशाल थापा र धुर्कोट गाउँपालिका–६ सिस्तुङका मेघनाथ अर्याल । जसले कृषि र पशुपालनमै आफ्नो भविष्य खोज्दै बाँझो बारीमा हातखुट्का नंग्रा खिवाइ रहेका छन् । "गुल्मी – पछिल्लो समय रोजगारी र सुन्दर भविष्यको सपना बोकेर अधिकांश युवा परदेश पसिरहेका छन् । कतिपय उच्च शिक्षा अध्ययन गर्ने नाममा होस् त कति परिवारको पालनपोषणका लागि परदेशी जीवनलाई रोजिरहेका छन् । दिनानुदिन युवा विदेश लागिरहेको बेला तर, गुल्मीका केही युवाले कृषिमार्फत स्वदेशमै समृद्धि यात्रा कोरिरहेका छन् । उनीहरुले गाउँकै बाँझो जमिनमा श्रम र सीपको प्रयोगले कृषि तथा पशुपालनको क्षेत्रमा नयाँ सम्भावना सहित समृद्धिको आयाम नै सिर्जना गरेका देखिन्छ । जो युवा हुन् जिल्लाको इस्मा गाउँपालिका–३ का गोर्कण नेपाली, गुल्मीदरबार गाउँपालिका–६ का विशाल थापा र धुर्कोट गाउँपालिका–६ सिस्तुङका मेघनाथ अर्याल । जसले कृषि र पशुपालनमै आफ्नो भविष्य खोज्दै बाँझो बारीमा हातखुट्का नंग्रा खिवाइ रहेका छन् । कृषि र पशुपालन क्षेत्रमा उदाहरणीय कर्म गरिरहेका यी तीन युवा कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीले उत्कृष्ट कृषकका रुपमा सम्मान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरुलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले उनीहरुलाई नगद र सम्मानपत्र प्रदान गरे । नेपालीलाई सर्वोत्कृष्ट कृषकको रूपमा नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको थियो भने, थापा र अर्याल उत्कृष्ट कृषकको रूपमा ५÷५ हजार नगद र सम्मान पत्रले सम्मानित भएका थिए । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीले तीन विधामा कार्यविधिमा तोकेको मापदण्ड अनुसार गत माघमा आवेदन खुल्ला गरेको थियो । जिल्लाभरबाट खुलेको प्रतिस्पर्धी आवेदनमा सातवटा मात्रै आवेदन आएका थिए । कार्यविधिमा तोकेको मापदण्डअनुसार मूल्याङ्कन गर्दा यी तीनजना उत्कृष्ट कृषकमा पर्न सफल भएका हुन् ।
घाँसखेतीमा गोर्कणको कृषि क्रान्ति
इस्मा गाउँपालिका–३ निवासी गोर्कण नेपालीले १२० रोपनीभन्दा बढी जमिनमा व्यावसायिक घाँसखेती गर्दै आएका छन् । उनले सञ्चालन गरेको ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्ममार्फत हाल देशभरका ५३ भन्दा बढी जिल्लामा उन्नत प्रजातिका घाँसका विरुवा विक्रि वितरण भइरहेको छ । यस फर्मले चालु आर्थिक वर्षमा करिब ४० लाख रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको फर्मका सञ्चालक नेपालीले बताए । घाँसखेतीसँगै उनले ५० वटा उन्नत जातका बाख्रापालन समेत गरेका छन् । दीर्घकालीन सोच, अनुसन्धान र व्यावसायिकताको संयोजनमार्फत गाउँमै कृषि क्रान्तिको नेतृत्व गरेका उनलाई ‘सर्वोत्कृष्ट कृषक’का रूपमा सम्मान गरिएको हो । उनी सानै उमेरमा सफल र व्यावसायिक कृषकका रुपमा परिचित छन् । दैनिक देशभरबाट हजारौं संख्यामा रोजगारीको खोजीमा युवा परदेशीएका बेला नेपाली भने गाउँमै उद्यम गरेर पनि सफलता हात पार्न सकिन्छ भनेर कृषिमा लाग्ने समाजका एक प्ररेणा हुन् ।
अनुसन्धानमुखी अभ्यासमा लागेका थापा
गुल्मीदरबार गाउँपालिका–६ निवासी विशाल थापाले रेसुंगा एग्रो एण्ड रिसर्च फर्म सञ्चालन गर्दै आएका छन् । अहिले थापाको फर्ममा करिब डेढ सय उन्नत जातका बाख्रा छन् । उनले केही वर्ष पहिले संचालनमा ल्याएको रिसर्च फर्मलाई स्रोत तथा अनुसन्धान केन्द्रको रूपमा विस्तार गर्ने योजना बनाएका छन् । “हामी अनुसन्धानमा आधारित व्यावसायिक पशुपालनको अभ्यास गरिरहेका छौं,” थापाले भने, “सरकारी सहयोगले हामीजस्ता कृषकलाई थप प्रेरणा र कर्ममा हौसला दिएको छ ।” उनले गरेको कृषि तथा पशुपालन कर्म अहिले गाउँमै लोभलाग्दो छ । आफू जिल्लामै नयाँ र रचनात्मक कृषि तथा पशुपालनमा फर्मलाई बाख्रापालन स्रोत तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना साथ अगाडी बढेको थापाको भनाई छ ।
भैसीपालन र अर्गानिक खाद्यान्नमा ब्रान्डिङमा अर्याल
धुर्कोट गाउँपालिका ६ सिस्तुङका मेघनाथ अर्याल २०७७ सालदेखि पशुपालन तथा कृषि कर्ममा छन् । उनले गाउँमै १ सय रोपनी जग्गामा कृषि तथा पशुपालन गरेका छन् । खेतमा ठुलो फर्म दर्ता गरेर ३० बढि उन्नतजातका भैसी पाल्दै आएका छन् । जसबाट दैनिक सय लिटर दुध उत्पादन हुदैँ आएको छ । उत्पादित दुध स्थानीय बजारमै खपत हुने गरेको उनको भनाई छ । अर्यालले पछिल्लो समय ग्रामिण क्षेत्रका कृषकलाई बाँदर बँदेल लगायतका जंगली वन्यजन्तुले अन्नबालीमा क्षति पुर्याउनुका साथै कृषकलाई हैरानी बनाएको गुनासो गरे । उनले वन्यजन्तुको आक्रमण र क्षतिलाई रोक्न तीनै तहका सरकारले आवश्यक कानुन नै निर्माण गरेर अगाडी बढ्नुपर्ने बताए । कृषि तथा पशुपालनमा दिगो समयसम्म रहन अनुसन्धान र व्यावसायिकतामा महत्व दिनुपर्ने उनको भनाई छ । उनले अहिले धुर्कोट गाउँपालिका,हेफर प्रोजेक्ट नेपालको सहयोगमा गाउँमै उद्योग स्थापना गरेका छन् ।
केही महिनादेखि अर्यालले खाद्यान्य प्रशोधन तथा प्याकेजिङ उद्योग मार्फत स्थानीय धुर्कोटे चामल बजारीकरण सुरु गरेका छन् । स्थानीय र अर्गानिक भएकाले यस चामलको तम्घास बुटवल लगायतका शहरमा समेत यसको माग बढिरहेको छ । उद्योगमा केही स्थानीयलाई समेत रोजगारी दिएका अर्यालले पहाडमा उत्पादन भएका अर्गानिक खाद्यान्यलाई उद्योग मार्फत प्रशोधन गरेर शहरमा पठाउने योजना बनाएको कृषक अर्यालले बताए । “म परदेशको आकर्षक कमाइ छाडेर गाउँमै कृषि उद्योगमा लागेँ,” अर्यालले भने, “स्थानीय उत्पादनलाई प्रशोधन गरेर बजारसम्म पु¥याउने हाम्रो मुख्य लक्ष्य हो।” उनी परदेशी लोभलाग्दो कमाई छोडेर गाउँमै कृषि तथा पशुपालन सहित उद्योग स्थापना गर्ने जिल्लाकै एक उदाहरणीय कृषक हुन् ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले कृषकहरूले छोटो समयमा नाफा खोज्ने प्रवृत्तिलाई त्यागेर दीर्घकालीन योजना र अनुसन्धानमा आधारित अभ्यास विकासमा लाग्नु पर्ने समय आएको बताए । “प्राविधिकहरूले कृषकसँग प्रत्यक्ष सम्पर्कमा रही समस्या पहिचान र समाधानमा सक्रिय हुनुपर्छ,” उनले जोड दिए । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेले कार्यविधिअनुसार जिल्लाभरका कृषकहरूमध्येबाट तीन जना छनोट गरी सम्मान गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको नीतिसँग समन्वय गर्दै गुल्मीलाई भैसीपालनको ‘पकेट क्षेत्र’का रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइँदैछ । अहिले कार्यालयले पशु उपचार सेवा,रोगको परीक्षण तथा नियन्त्रण,खोप कार्यक्रम,पशुपालन सम्बन्धी सल्लाह,कृत्रिम गर्भाधान, पशुजन्य रोगको तथ्याङ्क संकलन लगायतका कार्यक्रम गर्दै आएको कार्यालय प्रमुख पाण्डेले बताए ।