अविरल वर्षाका कारण गुल्मीका चार सडकखण्ड अवरुद्ध
गुल्मी – लगातारको अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडकमा पहिरो खसेपछि जिल्लाका चारवटा सडकखण्ड अवरुद्व भएका हुन ।
कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका – २ स्थित राक्से क्षेत्रमा ठूलो पहिरो खसेर बाटो अवरुद्ध भएको छ। त्यस्तै, मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्डको रुरु गाउँपालिका – ३ स्थित सल्लेरीमा खसेको पहिरोका कारण यातायात पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिए।
उनका अनुसार, रुद्रवेणी–वामी सडकखण्डको सत्यवती–४, भिरमा खसेको पहिरोले बाटो बन्द भएको छ। साथै, सोही सडकखण्डकै सत्यवती गाउँपालिका–६, डहरे खोलामा आएको ठूलो पहिरोले पनि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यी अवरुद्व भएका चारवटा सडकखण्ड मध्ये सबैभन्दा व्यस्त मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्ड मानिन्छ । अहिले रुरु गाउँपालिका – ३ स्थित सल्लेरीमा सडक अवरुद्व भएपनि वैकल्पिक सडक मार्फत सवारी चलिरहेको प्रहरी नायब उपरीक्षक सारुले बताए । उनले सबै सडक खुलाउनको लागी सरोकारवाला, स्थानीय सबैसङ्ग समन्वय सहकार्य गरेपनि निरन्तर परेको वर्षा र जोखिमका कारण सडक खुलाउन कठिनाइ भएको बताए ।
चारवटा सडकखण्ड अवरुद्धसडक अबरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुहरू दैनिक आवतजावतमा समस्यामा परेका छन । अहिले यी सडकमा साना तथा ठुला सवारी साधन समेत चल्न सकेका छैनन । नेपालीको महान पर्व वडा दशै तथा दिपावली नजिकिएसङ्गै यात्रुहरुको पनि चाप बढ्न थालेको छ ।
सडक खुलाउने प्रयास सुरु भए पनि अविरल वर्षाले कार्यमा कठिनाइ थपिरहेको प्रहरीको भनाइ छ। यसैबीच, गुल्मी सहित आसपासका क्षेत्रमा वर्षा रोकिएको छैन, जसले थप पहिरो खस्ने र जोखिम बढ्ने आशंका स्थानीयवासीले व्यक्त गरेका छन्।


























