नयाँगाउँ पूर्ण सरसफाइयुक्त वडा घोषणा



गुल्मी –  गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । नयाँगाउँमा रहेका आठओटा टोल विकास संस्थाअन्तरगतका घरधुरी, संघ संस्था, कार्यालय गरी कुल सात सय ८८ स्थानमा हरियो स्टिकर टाँस गरेपछि नयाँगाउँलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको हो ।

सोमबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडाध्यक्ष चेतमान कुँवरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा भएको प्रमाणपत्र प्रदान गरे । पूर्ण सरसफाईयुक्त वडा घोषणाको लागि नयाँगाउँमा टोल विकास संस्था गठन भई क्रियाशिल भएको, सबै टोलमा सरसफाई तथा फोहोरमैला व्यवस्थापनसम्बन्धि अभिमुखिकरण अभियान चलाइएको, साविकको वडा नम्बर ५, ६ र ७ मा शौचालय नभएका विपन्न परिवारलाई पाइप र साइफन वितरण गरिएको छ ।


Advertisement

त्यसैगरी सात सय ८८ घरधुरीमा चाङ निर्माण गरिएको, विपन्न परिवारलाई पालिकाको सहयोगमा शौचालय निर्माण गरिदिएको, विभिन्न पर्यटकीय स्थलहरुमा सार्वजनिक शौचालय निर्माण, सबै विद्यालयहरुमा छात्र÷छात्रा शौचालयको निर्माण, सार्वजनिक स्थानहरुमा फोहोर जलाउने खाल्डाहरु निर्माण एवं आठओटै टोललाई पूर्ण सरसफाइयुक्त टोल घोषणा लगायतका काम भएको वडाध्यक्ष चेतमान कुँवरले जानकारी दिए ।

नयाँगाउँमा पहिलो पटक भाँखर्क टोल विकास संस्था २०८० असार २३ गते र अन्तिम पटक सिद्धस्थान टोल विकास संस्था गत भदौ १९ गते पूर्ण सरसफाईयुक्त टोल घोषणा भएका थिए । कार्यक्रमकै अवसरमा पूर्ण सरसफाइयुक्त वडा घोषणाको लागि योगदान दिने सबैलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । नयाँगाउँ धुर्कोटमा पूर्ण सरसफाईयुक्त वडा घोषणा हुने दोस्रो वडा हो ।

यसभन्दा पहिले वडा नम्बर ६ रजस्थललाई सरसफाईयुक्त वडा घोषणा गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सरसफाइका छ वटा सूचकहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले धुर्कोट गाउँपालिकाभित्र रहेका सम्पूर्ण घर, परिवार, संघ संस्था, कार्यालयमा सरसफाई गुरुयोजना २०६८ र पूर्ण सरसफाई मार्गदर्शन २०७३ लाई आधार मानि पूर्ण सरसफाइयुक्त टोल, वडा र पालिका घोषणा गर्ने पालिकाले उदेश्य रहेको बताए ।

त्यस्तै उपाध्यक्ष सीता गिरीले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकोले अन्य वडाहरु पनि पूर्ण सरसफाइयुक्त वडा घोषणाको काममा लागेको बताइन् । यसले महिलाहरुको दीगो विकासमा पनि सहयोग पुग्ने भएकोले वडाबासीलाई बधाई दिइन् ।

सामाजिक विकासका विभिन्न सूचकहरुमध्ये नयाँगाउँले आफुलाई अब्बल सावित गर्दै आएको छ । जसअन्तरगत गत असार १६ गते वडालाई गुल्मीमै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।त्यसैगरी नयाँगाउँलाई एक घर एक धारा, पूर्ण संस्थागत प्रसुती, पूर्ण पोषणमैत्री एवं पूर्ण खोपयुक्त वडा घोषणा गरिएको वडासचिव नारायण पोखरेलले जानकारी दिए ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन



Ticker news is only displayed on the front page.