गुल्मीको त्रिभुवन माविमा सरस्वती पूजा तथा अक्षरारम्भ सम्पन्न
केशव गौतम/ गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका १४ रातामाटामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा शुक्रबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने श्रीपञ्चमी पर्वको अवसरमा आयोजित कार्यक्रममा ६ जना नव आगन्तुक बालबालिकाहरुले अक्षर लेखनको औपचारिक आरम्भ गरेको विद्यालय जनाएको छ ।
बालबालिकाहरुको लागि शैक्षिक सत्र बैशाखबाट सुरु हुने भएतापनि सरस्वती पूजाको दिनदेखि अक्षर लेखन सुरु गराउदा विद्याकी देवी सरस्वतीको कृपाले नविन कामको थालनी गर्ने जो कोहीलाइ पनि सिकाइ सहज हुने र बढि लाभ मिल्ने प्रधानाध्यापक तिलकराम गौतमले बताए ।
सरस्वती पूजाको अवसरमा विद्यालयमा अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा पूजा कार्यक्रम आयोजना सम्पन्न भएको छ। सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमका क्रममा विद्यालयका साना बालबालिकाले सरस्वतीको आराधना,गायन र नृत्य प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको गतिविधिहरूले कार्यक्रममा थप आकर्षण र यसले शिक्षा र संस्कृतिको महत्त्वलाई विद्यालयमा गम्भीरतासाथ मनाउने सन्देश दिएको विद्यालयका प्रधानाध्यापक तिलकराम गौतमले जानकारी दिए ।
यो वर्ष गत वर्षको तुलनामा कार्यक्रम अझ भव्यरुपमा आयोजना गरिएको र आगामी वर्षमा यसभन्दा उत्कृष्ट कार्यक्रमको योजना रहेको छ। यस कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण र समुदायसँगको समन्वयलाई अझ सुदृढ बनाएको छ।
साथै, त्रिभुवन माध्यमिक विद्यालयले निःशुल्क भर्नाको अवसर प्रदान गर्दै ६ जना भन्दा बढी नयाँ विद्यार्थी भर्ना गरेको विद्यालय जनाएको छ । भविष्यमा नयाँ पिढीलाई शिक्षा र संस्कृतिमा अगाडि बढ्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको विद्यालयका सह प्रधानध्यापक दुर्गा प्रसाद गौतमले बताए ।
त्रिभुवन माध्यमिक विद्यालयका शिक्षकले विद्यालयमा अवस्थित सरस्वती पूजाको लागि मण्डप तयार पारी पण्डित रुद्रप्रसाद आचार्यले पूजा विधि आरम्भ गरी अध्ययनरत सम्पुर्ण विद्यार्थी र शिक्षक मार्फत पूजा आराधना गरी नव आगन्तुक बालबालिकाहरुलाइ अक्षर लेखनको सुरुवात गराइ टिका लगाएर शैक्षिक सामग्री, प्रसाद वितरण गरी भजन किर्तनसमेत गरिएको विद्यालयले जनाएको छ ।
पहिलोपटक विद्यालय आएका नव आगन्तुक बालबालिकाहरु पेन्सिल, कापी, प्रसाद र अन्य फलफुल सङ्गै समुहमा भजनकिर्तनमा नाचगान गरेको देख्दा प्रफुल्ल देखिएका थिए ।
श्री त्रिभुवन माध्यमिक विद्यालयमा हाल कक्षा बालविकासदेखि कक्षा १० सम्म अध्ययन अध्यापन हुने गरेको छ । विद्यालयमा अहिले १ सय ६९ भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन ।सरस्वती पूजाको दिन श्री त्रिभुवन माध्यमिक विद्यालय सङ्गसङ्गै रेसुङ्गा नगरपालिका लगायत देशैभर सोही अवसरमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएका छन ।



