गुल्मी १ मा नयाँ र पुराना अनुहारबीच कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
गुल्मी – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढ्दै जान थालेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन्। लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा पनि चुनावी माहोल तातेको छ।

गुल्मी क्षेत्र नम्बर-१ मा यसपटकको निर्वाचन विशेष चासोका साथ हेरिएको छ। पुराना स्थापित दल र नयाँ राजनीतिक शक्तिको उपस्थितिले यो क्षेत्रको प्रतिस्पर्धा थप रोचक र कडा हुने अनुमान गरिएको छ। अहिले उम्मेदवारहरू मतदाता रिझाउन टोल–टोलमा पुगेर चुनावी अभियान तीव्र बनाइरहेका छन ।
यस निर्वाचन क्षेत्रमा कुल २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये १० जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। पुराना दललाई आफ्नो राजनीतिक विरासत जोगाउने चुनौती रहेको छ भने नयाँ दल र उम्मेदवारका लागि यो निर्वाचन अवसरका रूपमा देखिएको छ। तर, जनमत कसको पक्षमा जान्छ भन्ने कुरा फागुन २१ गतेको नतिजाले देखाउने छ।
क्षेत्र नम्बर १ मा नेकपा (एमाले)बाट पूर्व उपमहासचिव समेत रहेका प्रदीप कुमार ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्रकान्त भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल र नेकपाबाट सुदर्शन बराल उम्मेदवार बनेका छन्। यसैगरी नेपाल मजदुर किसान पार्टीबाट मायालक्ष्मी स्यात, नेशनल रिपब्लिक नेपालबाट लोकबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर थापा र आम जनता पार्टीबाट सिखा रेश्मीले पनि उम्मेदवारी दिएकी छन्।
स्वतन्त्र उम्मेदवारहरूमा प्रेमप्रसाद श्रेष्ठ, टोपबहादुर थापा, चेतनबहादुर बस्नेत, घनश्याम गौतम, कृष्णबहादुर सुनार, मेघबहादुर गाहा, प्रेमलाल भण्डारी, लक्ष्मण भण्डारी, यमबहादुर बस्नेत, विमल ज्ञवाली र सूर्यबहादुर सोनी मगर रहेका छन्। मुख्यतः यस क्षेत्रमा ठूला चार दलबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। विगतका निर्वाचनमा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा. चन्द्रकान्त भण्डारीबीच आलोपालो जस्तै देखिएको यो क्षेत्र यसपटक भने दुवै नेताका लागि सहज देखिँदैन।
एमाले उम्मेदवार ज्ञवाली अनुभवी, अध्ययनशील र विवादरहित विकासप्रेमी नेताका रूपमा परिचित छन्। निर्वाचित भएपछि विभिन्न समयमा मन्त्रीसमेत बनेका ज्ञवालीले विकास र कूटनीतिक क्षमताका कारण छुट्टै पहिचान बनाएका छन्। कांग्रेस उम्मेदवार डा. भण्डारी बौद्धिक, सिद्धान्तनिष्ठ र स्पष्ट वक्ताका रूपमा चिनिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल यस क्षेत्रका नयाँ अनुहार हुन्। पेसाले इन्जिनियर रहेका ढकाल २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा डडेलधुराबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए। यसपटक उनी आफ्नै गृह जिल्लाबाट चुनावी मैदानमा उत्रिएका छन्।
नेकपाका उम्मेदवार सुदर्शन बराल सरल र इमानदार नेताको छविका रूपमा परिचित छन्। बराल २०७४ सालमा यसै क्षेत्रको प्रदेश ‘क’ बाट निर्वाचित भई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री बनेका थिए। यद्यपि कांग्रेस र एमालेको तुलनामा नेपाल कम्युनिस्ट पार्टी यस क्षेत्रमा कमजोर देखिन्छ। जेन्जी आन्दोलन पश्चात् फेरिएको परिस्थितिका कारण बराललाई पनि यो निर्वाचन अवसर बन्न सक्छ।
यस निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या १ लाख २२ हजार १८६ रहेको छ। तीमध्ये महिला मतदाता ६२ हजार २७२ र पुरुष मतदाता ५९ हजार ९१४ छन्। यहाँ ८३ वटा मतदान स्थल र १५५ वटा मतदान केन्द्र तोकिएका छन्।
देशका ठूला दलका उच्च प्रोफाइल नेताबीच हुने यस निर्वाचनलाई केन्द्रदेखि विशेष चासोका साथ हेरिएको छ। यो चुनाव राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकालका लागि अवसर बन्न सक्ने देखिन्छ भने पुराना नेताहरूका लागि आफ्नो राजनीतिक विरासत जोगाउने महत्त्वपूर्ण परीक्षा बन्नेछ।



