गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो



गुल्मी : वर्षौँको प्रतीक्षापछि गुल्मी जिल्ला अन्ततः राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। उनायचौर–पौदी–बुर्तिबाङ्ग १३२ केभी लाइनको परीक्षण सफल भएसँगै मंगलबारदेखि नियमित विद्युत् प्रवाह सुरु भएको हो। यसले दैनिक विद्युत् अवरुद्धको समस्या अन्त्य गर्नुका साथै जिल्लामा उद्योग, व्यवसाय र रोजगारीका नयाँ सम्भावना खोलेको छ।

मंगलबार आयोजनाको अनुगमनका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राष्ट्रिय प्रसारणमा जोडिनु गुल्मीका लागि ऐतिहासिक उपलब्धि भएको बताए। अब पहाडी जिल्लामै लगानी बढाएर बसाइँसराइ रोक्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले उद्योगी, व्यवसायी र लगानीकर्तालाई खुलेका अवसरको सदुपयोग गर्न आग्रह समेत गरेका छन्।


Advertisement
Advertisement

कपिलवस्तुको मोतिपुरदेखि सन्धिखर्क–तम्घास हुँदै बुर्तिबाङसम्म करिब ८६ किलोमिटर दूरीमा पाँच सबस्टेशन र २४८ टावर निर्माण गरिएको यस आयोजनाअन्तर्गत गुल्मीमा उनायचौर र पौदी अमराई गरी दुई सबस्टेशन सञ्चालनमा आएका छन्। आयोजना प्रमुख इन्जिनियर मनोज चौधरी अनुसार हालसम्म अर्बौँ रुपैयाँ बराबरको लगानी भइसकेको छ।

कुनै समय टुकी बालेर चुनावी अभियान सञ्चालन गर्नुपर्ने गुल्मीका निर्वाचन क्षेत्रहरूमा दुई सबस्टेशन निर्माण गरेर विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिन पाउनु गुल्मेलीका लागि निकै सुखद विषय भएको पूर्व ऊर्जामन्त्री गोकर्णराज बिष्टले बताए । उनले आफूले समावेश गरेको महत्वपूर्ण आयोजना सफल हुँदा गर्वको महसुस भएको सुनाउँदै अब उद्योग कलकारखाना मार्फत जनताको आर्थिक समृद्धिको पक्षमा काम गरिने बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.