शिशु हत्यापछि पीडामा रहेकी आमालाई राहत सहयोग
गुल्मी – गुल्मीमा पारिवारिक झगडाको दुःखद परिणामस्वरूप तीन महिनाको नवजात शिशुको ज्यान गएको घटनाले जिल्लावासीलाई स्तब्ध बनाएको छ । घटनापछि गहिरो शोक र आर्थिक संकटमा परेकी आमा कमला मुखियालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गरिएको छ ।
पीडाको यो घडीमा प्राप्त सहयोगले परिवारलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिका–३१ स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका पदमराज पौडेलले राहतस्वरूप खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।
वैदेशिक रोजगारीसम्बन्धी काम गर्दै आएका पौडेलले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावनाले आफू अघि सरेको बताए । गत माघ १४ गते राति गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा श्रीमान–श्रीमतीबीच भएको सामान्य भनाभनले उग्र रूप लिँदा दुःखद घटना घटेको थियो । ४६ वर्षीय सन्तबहादुर कुमाल (मुखिया) ले मादक पदार्थ सेवन गरेको अवस्थामा आक्रोशको आवेगमा आफ्नै तीन महिनाको छोरा सुवास कुमाललाई भुईँमा पछारेका थिए ।
गम्भीर चोटका कारण शिशुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुका अनुसार आरोपित बाबु सन्तबहादुरलाई घटनापछि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । कमलाका अनुसार करिब डेढ महिनाअघि श्रीमानबाट भएको कुटपिटका कारण उनको खुट्टा भाँचिएको थियो । आर्थिक अभावका कारण समयमै उपचार हुन नसक्दा उनी अझै घाइते अवस्थामै पीडादायी जीवन बिताउन बाध्य छिन् ।
उपचारका लागि काठमाडौं लगिए पनि उपचार नगरि पुनः घर फर्किएकी छन् । शारीरिक पीडासँगै मानसिक आघातले उनी गहिरो तनावमा रहेकी छन् । पाँच जना छोराछोरीको पालनपोषणको सम्पूर्ण जिम्मेवारी अब उनकै काँधमा आएको छ । श्रीमान प्रहरी नियन्त्रणमा रहेकाले घरपरिवारको सम्पूर्ण भार एक्लै बोक्नुपर्ने अवस्था सिर्जना भएको छ । मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गर्दै कठिन घडीमा साथ दिनु आवश्यक उनको लागि आवश्यक छ । पदमराज पौडेलद्वारा प्रदान गरिएको खाद्यान्न तथा लत्ताकपडाले केही दिनका लागि भए पनि राहत मिलेको कमला मुखियाले बताइन् ।



