गुल्मीको घमिरमा विशेषज्ञ डाक्टरसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने



गुल्मी – गुल्मीको मालिका गाउँपालिका–७ घमिरमा विशेषज्ञ डाक्टरसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। घमिर खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजनामा आगामी चैत २१ गते यो शिविर सञ्चालन हुन लागेको हो।

शनिबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै क्लबका सचिव गोविन्द कार्कीले शिविरबारे जानकारी दिनुभयो। शिविरमा अर्थोपेडिक तथा प्रत्यारोपण विशेषज्ञ डा. रमेश अर्याल, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन (गोल्ड मेडलिस्ट) डा. सुमन आचार्य, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत, एमडिजीपी डा. सुनिल सुनार र मेडिकल अधिकृतहरू विजय पाण्डे, सन्तोष पाण्डे तथा आशिष भुर्तेलसहितको टोलीले बिरामीको उपचार गर्नेछ ।


Advertisement
Advertisement

शिविरमा इसीजी (ECG), भिडियो एक्सरे र निःशुल्क औषधि वितरणको समेत व्यवस्था गरिएको छ। क्लबका अध्यक्ष सुमन पन्थीले क्लबको बचत रकमबाटै यो शिविर आयोजना गर्न लागिएको बताउनुभयो। “आर्थिक अभाव र विभिन्न कारणले गाउँमै रोग लुकाएर बस्न बाध्य हुनेहरूका लागि यो अवसर हो,” उहाँले भन्नुभयो, “गाउँमै विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा शिविर हुने भएकाले सबैलाई सेवा लिन अनुरोध गर्दछौँ।”

​यसपटक कसैसँग आर्थिक सहयोग संकलन नगरी क्लबको आन्तरिक बचतबाटै शिविर व्यवस्थापन गरिएको अध्यक्ष पन्थीले स्पष्ट पार्नुभयो। शिविर मालिका गाउँपालिका–७, घमिरस्थित भानुपोखरा देवीस्थान माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ। यस शिविरबाट मालिका गाउँपालिकाका साथै आसपासका नागरिकले समेत लाभ लिने अपेक्षा क्लबले राखेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन



Ticker news is only displayed on the front page.