पत्रकार महासंघको स्थापना दिवसमा रेसुङ्गा क्षेत्रमा सरसफाइ



Screenshot

गुल्मी – नेपाल पत्रकार महासंघ गुल्मीले रेसुङ्गा क्षेत्रमा सरसफाइ गरेको छ। नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा गुल्मीको धार्मिक तथा पर्यटकीय रेसुङ्गा गर्जुरा क्षेत्र सरसफाइ गरिएको जिल्ला सचिव सन्तोष महताराले जानकारी दिए।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागितामा रेसुङ्गाको गर्जुरा क्षेत्रमा व्यापक सरसफाइ गरिएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्र गर्जुरामा पत्रकारहरूले सरसफाइ अभियानमार्फत समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको सचिव महताराले बताए।


Advertisement
Advertisement

उनले रेसुङ्गा जस्तो ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्रलाई स्वच्छ, सफा र आकर्षक बनाउनु जिल्लावासी सबैको दायित्व रहेको उल्लेख गरे।रेसुङ्गाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेसुङ्गा नगरपालिकाले जाउँ हिंड रेसुंगा अभियान सञ्चालन गरेको छ। उक्त अभियानले समग्र जिल्लाको पर्यटन विकास तथा प्रवर्द्धनमा थप टेवा पुर्‍याउँदै आएको छ।नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले रेसुङ्गाको सौन्दर्य संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा जनचेतना फैलाउन मद्दत पुगेको बताए।

नगरपालिकाको पहलमा तम्घासदेखि रेसुङ्गा शिरसम्म जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाहरूले खण्ड–खण्डमा सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेका छन्। यसले रेसुङ्गा क्षेत्र स्वच्छ र सफा हुनुका साथै प्राकृतिक सौन्दर्यले थप सिँगारिएको छ। रेसुङ्गा क्षेत्रलाई क्रमशः सफा, हराभरा र व्यवस्थित बनाउँदै लैजाने अपेक्षा नगरपालिकाले राखेको छ।

रेसुङ्गा क्षेत्र धार्मिक आस्थासँगै पर्यटकीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। यहाँ दैनिक आन्तरिक पर्यटक तथा भक्तजनहरूको आगमन हुने भएकाले क्षेत्रलाई स्वच्छ र सफा राख्नु अत्यावश्यक मानिन्छ।स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रममा सहभागी पत्रकारलाई धन्यवाद दिँदै अध्यक्ष खत्रीले रेसुङ्गा सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

पत्रकार समाजको ऐना भएकाले सरसफाइ केवल एक दिनको कार्यक्रम मात्र नभई यस क्षेत्रको सरसफाइ र प्रचारप्रसारमा सधैं लागिरहने उनले उल्लेख गरे। नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा गरिएको यो सरसफाइ अभियानले सामाजिक उत्तरदायित्व, वातावरणीय सचेतना र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.