गुल्मीमा नि:शुल्क औषधिसहितको वृहत् स्वास्थ्य शिविर हुने
गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिका–७, घमिरमा यही चैत्र २१ गते वृहत् नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। श्री खेलकुद तथा सांस्कृतिक युवा क्लब र वडा कार्यालयको समन्वयमा एकदिने शिविर सञ्चालन गर्न लागिएको क्लबका सचिव गोविन्द कार्कीले जानकारी दिए ।
“स्वस्थ नागरिक, समृद्ध समाजको आधार—स्वास्थ्य नै धन हो, सबैका लागि स्वास्थ्य सेवा” भन्ने नारासहित सञ्चालन हुने उक्त शिविरमा आधा दर्जनभन्दा बढी विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गर्ने बताइएको छ ।
शिविरमा हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. रमेश अर्याल, फेमिली फिजिसियन डा. सुनिल सुनार, पेट, छाती, मुटु तथा नसा रोग विशेषज्ञ डा. सुमन आचार्य, नाक-कान-घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत, मेडिकल अफिसर डा. विजय पाण्डे, आशिष भुर्तेल, सन्तोष पाण्डेलगायतका चिकित्सकहरूबाट सेवा उपलब्ध हुने पत्रकार सम्मेलन मार्फत सचिव कार्कीले बताए ।
शिविरमा सुगर, प्रेसर, थाइराइड, बाथ, दम, पेट–छाती तथा मुटुरोग, महिला तथा स्त्रीरोग, हाडजोर्नी (अर्थोपेडिक), नेत्ररोग (आँखा) सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुनेछ। साथै, इसिजी (ECG) परीक्षण र निःशुल्क औषधि वितरण पनि गरिने क्लबका अध्यक्ष सुमन पन्थीले जानकारी दिए । अध्यक्ष पन्थीका अनुसार ग्रामीण क्षेत्रमा विशेषज्ञ डाक्टरसहितको यस्तो निशुल्क स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई रोग पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुग्नेछ। उनले मालिका गाउँपालिकाका सम्पूर्ण वडाका साथै छिमेकी गाउँका स्थानीयलाई पनि शिविरको अधिकतम लाभ लिन आग्रह गरेका गरे ।
स्वास्थ्य शिविर मालिका गाउँपालिका–७, घमिरस्थित भानुपोखरा देवीस्थान माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन हुनेछ। क्लबले शिविरमा मालिका गाउँपालिकाका सबै बासिन्दाले सेवा लिने अपेक्षा गरेको जनाएको छ। देश तथा विदेशमा रहेका सहयोगदाताहरूको सहयोगमा क्लबले विगतदेखि नै वडा दशैंको अवसरमा सांस्कृतिक संरक्षण तथा खेलकुद विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। गाउँमा सामाजिक र रचनात्मक गतिविधिहरू गर्दै आएको क्लबले गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन यो शिविर आयोजना गरेको व्यवस्थापक ज्ञानराज पन्थीले बताए।
अहिले क्लवले स्वास्थ्य शिविरलाई थप व्यावस्थित र प्रभावकारी बनाउन व्यापक तयारी गरिरहेको छ । श्री खेलकुद तथा सांस्कृतिक युवा क्लवले गत माघ २३ गते शिविर सन्चाल गर्ने गरी सूचामा सार्वाजानिक गरेको थियो तर फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण शिविर सरेको थियो । शिविरमा उपलब्ध हुने सेवा अन्य समयमा लिनुपरेमा गुल्मीको सदरमुकाम तम्घाससहित छिमेकी जिल्ला पाल्पा, रुपन्देहीलगायतका स्थानमा जानुपर्थ्यो। तर यो शिविरले गाउँका नागरिकलाई सहजता प्रदान गर्ने क्लवले विश्वास समेत लिएको छ ।



