गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट १३ सय लाभान्वित



Screenshot

गुल्मी  – गुल्मी जिल्लामा सञ्चालन गरिएको निःशुल्क औषधिसहितको वृहत् स्वास्थ्य शिविरबाट करिब १ हजार ३ सय नागरिकले स्वास्थ्य सेवा लिएका छन्

जिल्लाको मालिका गाउँपालिका – ७ घमिरमा शनिबार सम्पन्न एकदिने शिविरमा विभिन्न रोगका बिरामीहरूले विशेषज्ञ डाक्टरबाट सेवा लिएका हुन्। श्री खेलकुद तथा सांस्कृतिक युवा क्लवको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा १३८ जनाले भिडियो एक्सरे तथा १०५ जनाले इसिजी (ECG) परीक्षण गराएका क्लवले जनाएको छ । खेलकुद तथा सांस्कृतिक युवा क्लवका सचिव गोविन्द कार्कीका अनुसार “स्वस्थ नागरिक, समृद्ध समाजको आधार—स्वास्थ्य नै धन हो, सबैका लागि स्वास्थ्य सेवा” भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा आधा दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।


Advertisement
Advertisement

शिविरमा डाक्टर रमेश अर्याल, सुनिल सुनार, सुमन आचार्य, सन्तोष बस्नेत, विजय पाण्डे, आशिष भुर्तेल र सन्तोष पाण्डे लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए। शिविरमा सुगर, प्रेसर, थाइराइड, बाथ, दम, पेट–छाती तथा मुटुरोग, महिला तथा स्त्रीरोग, हाडजोर्नी, आँखा तथा नाक–कान–घाँटीसम्बन्धी रोगहरूको विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। साथै, इसिजी परीक्षण र निःशुल्क औषधि वितरण गरिएको क्लबका अध्यक्ष सुमन पन्थीले जानकारी दिए।

अध्यक्ष पन्थीका अनुसार ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको यस्तो निःशुल्क स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई रोग पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुगेको छ। शिविरबाट मालिका गाउँपालिकाका विभिन्न वडासहित छिमेकी क्षेत्रका नागरिकले समेत सेवा लिएका थिए।

क्लबले विगतदेखि नै सांस्कृतिक संरक्षण र खेलकुद विकाससँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आर्थिक रूपमा विपन्न तथा ग्रामीण भेगका नागरिकलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम व्यवस्थापक ज्ञानराज पन्थीले बताए।

क्लबले माघ २३ गते शिविर सञ्चालन गर्ने गरी सूचना सार्वजनिक गरेको भए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण कार्यक्रम सारिएको थियो। शिविरमा उपलब्ध हुने सेवा अन्य समयमा लिनुपरेमा गुल्मीको सदरमुकाम तम्घाससहित छिमेकी जिल्ला पाल्पा, रुपन्देहीलगायतका स्थानमा जानुपर्थ्यो। तर यो शिविरले गाउँका नागरिकलाई सहजता प्रदान गर्ने क्लवले विश्वास समेत लिएको छ । घमिर सहित छिमेकमा रहेका वडा अर्जै, मर्भुङ्ग, छापहिले, अर्खावाङ्ग, ह्वाङ्दी, नेटा ,दर्लिङ्ग लगायतका वडाबाट नागरिकले सेवा लिएका थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.