विद्यार्थीका सुझाव संकलन गर्न एमालेले कार्यालयमा पेटिका राख्ने



काठमाडौं – नेकपा (एमाले)ले आफ्नो केन्द्रीय पार्टी कार्यालय, च्यासलमा विद्यार्थीका लागि सुझाव पेटिका राख्ने भएको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत सो जानकारी गराएका हुन् । अध्यक्ष ओलीले पार्टी कार्यालयमा विद्यार्थी भाइबहिनीहरुलाई पार्टीको बारेमा जानकारी मात्र दिने होइन कि सुझाव पनि लिने भनेर सुझाव पेटिका राख्न भनेको बताएका छन् । जुन सुझावहरु उनी आफैँ पनि पढ्ने र सोही अनुरुप चल्ने प्रयास गर्ने उल्लेख गरेका छन् ।


Advertisement

शुक्रबार फेसबुकमा लेख्दै अध्यक्ष ओलीले विद्यालयहरुले विद्यार्थीहरुलाई राजनीतिक दलका कार्यालय घुमाउने र केही जानकारी लिने चलन सुरु गरेको यो राम्रो सुरुवात भएको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले भनेका छन्ः

विद्यार्थीका लागि सुझाव पेटिका !

आजभोलि विद्यालयहरुले विद्यार्थीहरुलाई राजनीतिक दलका कार्यालय घुमाउने र केही जानकारी लिने चलन सुरु गरेका रहेछन् । यो राम्रो सुरुवात हो । अस्ति म पार्टी कार्यालय गएको बेला संयोगले विद्यार्थीहरुसँग भेट भयो र उनीहरुसँग केही कुरा गर्ने अवसर मिल्यो । हाम्रो पार्टीका कार्यालय सचिवले वताए अनसार आजभोलि सातामा ४/५ वटा विद्यालयबाट विद्यार्थीहरु पार्टी कार्यालय अवलोकन गर्न आउँदा रहेछन् र यो क्रम बढ्दो छ । हो, यसरी नै हो हाम्रो देशको राजनीतिप्रति हाम्रा विद्यार्थीहरुको चासो र विश्वास बढाउने । र, भोलि उनीहरुलाई राजनीतिमा आउन प्रेरित गर्ने । हाम्रो पार्टी कार्यालयमा यी विद्यार्थी भाइबहिनीहरुलाई पार्टीको बारेमा जानकारी मात्र दिने होइन कि सुझाव पनि लिने भनेर सुझाव पेटिका राख्नु भनेको छु । जुन सुझावहरु म आफैं पनि पढ्ने छु र सोही अनुरुप चल्ने प्रयास हामी गर्ने छौं । अहिलेसम्म घुम्न आउनु भएका विद्यार्थी भाइबहिनीहरुका सुझावहरु के छन्, कमेन्ट बक्समा लेख्न सक्नु हुन्छ ।

शुभ विहानी ।

Good Friday !!

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.