गुगलले सुझाव दिएको पासवर्ड कत्तिको जोखिम ?



काठमाडौं – विभिन्न अनलाइन अकाउन्टका लागि प्रयोग हुने पासवर्ड जटिल र सजिलै अनुमान गर्न नसकिने किसिमको राख्नुपर्छ । तर, हामी हाम्रो सहजता र सहजै सम्झिनका लागि सामान्य पासवर्ड राख्छौं । यसले गर्दा अकाउन्ट ह्याक हुने जोखिम उच्च हुन्छ ।

प्रयोगकर्तालाई पासवर्ड राख्न गाह्रो नहोस् भन्ने मनसायले गुगलले विभिन्न अनलाइन अकाउन्ट बनाउँदा जटिल पासवर्ड सुझाव दिन्छ । यस्ता पासवर्डहरू सम्झिरहन झन्झट गर्नु पर्दैन । किनभने यी पासवर्ड प्रयोगकर्ताको डिभाइसमा हुने गुगलको पासवर्ड मेनेजरमा सुरक्षित हुन्छन् । त्यसबाहेक पनि गुगल पासवर्डका अन्य थुप्रै विशेषता छन् ।


Advertisement

गुगलले सुझाव दिएका यस्ता पासवर्ड प्रयोग गर्नु कत्तिको जायज हो त ? यस्ता पासवर्ड प्रयोग गर्दा हाम्रो अकाउन्ट ह्याक हुन्छ कि हुँदैन ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं । 

सबैभन्दा पहिले बुझौं, गुगलले कसरी कडा पासवर्ड सुझाव दिन्छ ? तपाईंले क्रोम ब्राउजरमा कुनै पनि वेबसाइटका लागि अनलाइन अकाउन्ट बनाउँदै हुनुहुन्छ र पासवर्डको बक्समा ट्याप गर्नुभयो भने त्यहाँ ‘सजेस्टेड स्ट्रोङ पासवर्ड’ (Suggested Strong Password) भन्ने अप्सन देखिन्छ ।

यदि सो अप्सनमा ट्याप गर्नुभयो भने गुगलले विभिन्न अक्षर र अङ्कको संयोजनबाट तयार पारेको कडा पासवर्ड देखिन्छ । पासवर्ड राखेर अकाउन्ट बनाइसकेपछि उक्त पासवर्ड गुगल अकाउन्टमा सेभ हुन्छ ।

गुगलका अनुसार पासवर्ड मेनेजरले सुझाव दिने पासवर्ड हरेक पटक युनिक हुन्छ । यसले फरक-फरक अकाउन्टका लागि फरक-फरक पासवर्ड सुझाव दिन्छ । यदि केही गरी तपाईंको एउटा अकाउन्टको पासवर्ड कसैलाई थाहा भयो भने पनि अरू अकाउन्ट सुरक्षित नै हुन्छन् ।

त्यसबाहेक पनि तपाईंले जुन गुगल अकाउन्टको पासवर्ड मेनेजर प्रयोग गर्नुभएको छ, त्यो अकाउन्ट जुनसुकै डिभाइसमा राखेर पनि पासवर्ड मेनेजर प्रयोग गर्न सक्नुहुन्छ । पासवर्ड मेनेजरमा रहेका पासवर्डलाई गुगलको इन-बिल्ट सेक्युरिटी सिस्टमले सुरक्षित गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै तपाईंले अर्को पटक सोही अकाउन्ट लगइन गर्नुपर्‍याे भने गुगलले सोही पासवर्ड स्वतः बक्समा राखिदिन्छ । त्यस्तै तपाईंले विभिन्न अकाउन्टका लागि राखेको पासवर्ड कसैले इन्टरनेटमा राखेको छ भने गुगलले उक्त पासवर्ड असुरक्षित भएको भन्दै नोटिफिकेसन पठाउँछ ।

यदि तपाईंलाई आफ्नो पासवर्ड मेनेजरमा रहेका पासवर्ड असुरक्षित भन्ने शंका लागेमा यहाँ क्लिक गरी जाँच गर्न सक्नुहुन्छ । त्यसपछि तपाईं आफूले राखेको पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

यदि गुगलले सुझाव दिएको पासवर्ड असुरक्षित भएको शंका लागेमा तपाईंले त्यही कुनै अङ्क वा अक्षर यताउति राख्ने वा आफूलाई लागेका अक्षर वा अङ्क भरिदिन सक्नुहुन्छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.