आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा गुल्मीका बुढामगर छनोट
गुल्मी – आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२ औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप शुरु हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालबाट दुई महिला र दुई पुरुष गरेर चार जना खेलाडी सहभागी हुँदै छन् ।काजकिस्तानमा हुने २२ औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा गुल्मीबाट अजय बुढामगर सहभागी हुने भएका छन् ।
बि.स २०५७ सालमा गुल्मीको मालिका गाउँपालिका ०३ ह्वाङ्ग्दीमा जन्मिएका अजय जिल्लादेखि केन्द्रसम्म उत्कृष्ट र लगनशील खेलाडीको रुपमा चिनिन्छन । खेलाडी बुढामगर जिल्ला आइटिएफ टेक्वान्दो उपाध्यक्ष समेत हुन् ।
उनी जिल्लाको धुर्कोट गाउँपालिकामा बिगत ५ महिनादेखि खेल प्रशिक्षकको भुमिकामा कार्यरत छन् ।
खेलाडी बुढामगर २०१८ मा काठमाडौमा सम्पन्न भएको छैटौं साउथ एसिएन च्याम्पियनसिप सहभागी समेत भएका थिए । काजकिस्तानको अस्तानामा २२ औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा खेलाडी बुढामगर छनोट भएसङ्गै उनलाई गुल्मेलीहरुले बधाई तथा शुभकामना दिइरहेका छन् । खेलाडी बुढामगरलाई जिल्ला खेलकुद विकास समिती र जिल्लाका स्थानीय तहले आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
विश्व च्याम्पियनसिपमा छनोट भएका खेलाडीलाई बुधवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काजकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ८ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
गृहमन्त्री श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिँदै सरकारले पनि खेलकुद विकास आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाह अनुरूप गर्दै जाने विश्वास व्यक्त गरे । नेपाली टोली बिहीबार काजकिस्तानतर्फ प्रस्थान गर्नेछन् ।