जिउँदो भाईलाई मरेको भनेर मृत्यु दर्ता गर्ने कंडेल पक्राउ



सांकेतिक तस्बिर

बुटवल –  रोजगारीको लागि भारतमा रहेका भाईको मृत्यु भएको झुठो विवरण दिएर मृत्यु दर्ता प्रमाणपत्र बनाउने एकजना रुपन्देहीमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार झुठो विवरण दिएर जिवितै रहेका आफ्नै भाईको मृत्यु दर्ता गरिदिने तिलोत्तमा नगरपालिका वडा नं. ४ का ईन्द्रकुमार कंडेल पक्राउ परेका हुन्।


Advertisement

कंडेलले भाई बेदुराम कंडेलको २०७८ साल भदौ १५ गते मृत्यु भएको भन्दै २०७८ साल असोज २६ गते तिलोत्तमा वडा नं. ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए।

कंडेलले भाई बेदुराम अविवाहित तथा बौद्धिक अपाङगता रहेकोले जिवित छँदा आफैले पालनपोषण गरेको र सोहि क्रममा २०७८ साल भदौ १५ गते रुपन्देहीको सैनामैना रानिबगियामा मृत्यु भएपछि काजकिरिया समेत आफैले गरिदिएको भन्दै मृत्यु दर्ताको लागि वडा कार्यालयमा निवेदन दिएका थिए।

कंडेलले दिएको निवेदनमा चारजना व्यक्तिबाट सहि सनाखत समेत गरिदिए पछि तत्कालिन वडा अध्यक्ष दिवाकर ढकालको रोहवरमा वडा सचिव काशिराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता गरि प्रमाणपत्र उपलब्ध गराएका थिए।वडा सचिव ज्ञवालीले ईन्द्रकुमारले चारजना स्थानीयको सक्कल नागरिकता सहित सनाखत गरेको निवेदन लिएर आएपछि वडा कार्यालयले मृत्यु दर्ता गरिदिएको बताए।

वडा सचिव ज्ञवालीका अनुसार कंडेलको उक्त निवेदनमा पूर्णचन्द्र बस्याल, रिमा बस्याल, अजय कुमार न्यौपाने र धनीसरा न्यौपानेले सहि सनाखत गरिदिएका छन्।

उक्त निवेदनमा लामो समयदेखि दिर्घरोगी रहेका बेदुरामको २०७८ साल भदौ १५ गते सैनामैना रानीबगियामा कालगतिले मृत्यु भएको व्यहोरा ठिक साँचो हो, जीवित रहँदा पालनपोषण र स्याहारसुसार दाजु ईन्द्रकुमारले गरेको र मृत्यु पश्चात काजकिरिया समेत ईन्द्रकुमारले नै गरेको कुरा ठिक साँचो हो भनी निजहरुले सहि सनाखत गरिदिएका छन्।

मृतक बेदुराम अविवाहित रहेको र ईन्द्रकुमार बाहेक उनको अरु संरक्षक कोही नभएकोले मृत्यु दर्ता गरि दिन सिफारिस गर्दै आफुहरुले गरेको सिफारिस पछि फरक परे वा गलत ठहरे प्रचलित कानुन अनुसार सजायँको भागिदार बन्ने भन्दै सहि सनाखत गरिदिएका छन्।

रोजगारीको लागि भारतमा रहेका बेदुराम दुईवर्ष पछि घर आउँदा दाजु ईन्द्रकुमारले मृत्यु दर्ता गरिदिएको थाहा पाएका थिए। बेदुरामले आफु जिवित रहेको भन्दै वडा कार्यालयमा मृत्यु दर्ता बदरका लागि निवेदन दिएपछि उक्त रहस्य बाहिरिएको हो।

स्थानीयका अनुसार तिलोत्तमा ४ मा स्थायी ठेगाना रहेपनि लामो समयदेखि सैनामैनामा बस्दै आएका ईन्द्रकुमारले संगोलमा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न भाईको मृत्यु भएको झुठो विवरण दिएर मृत्यु दर्ता गराएका हुन्।

वडा कार्यालयका अनुसार भाईको मृत्यु दर्ता गरेपछि ईन्द्रकुमारले जग्गा नामसारीको लागि पनि पाँचजनाबाट सहि सनाखत गराएर वडा कार्यालयबाट सिफारिस गराएका थिए। वडा सचिव ज्ञवालीले निवेदकले सहि सनाखत गर्नेहरुको सक्कल नागरिकता सहित निवेदन ल्याएपछि मृत्यु दर्ता र जग्गा नामसारीको सिफारिस गरिदिएको बताए।

अहिले भाई बेदुरामले आफु जिवित रहेको र आफ्नो मृत्युदर्ता बदर गर्न निवेदन दिएपछि वडा कार्यालयले उक्त निवेदन जिल्ला प्रशासन कार्यालय पठाएको छ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरीले झुठो विवरण दिएर भाईको मृत्यु दर्ता गर्ने ईन्द्रकुमारलाई पक्राउ गरि थप कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले झुठो विवरण दिएर भाईको मृत्यु दर्ता गरिदिने ईन्द्रकुमारलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाईएको बताए। ईन्द्रकुमारले दिएका झुठो विवरणमा सहि सनाखत गरिदिने व्यक्तिहरुबारे पनि अनुसन्धान भईरहेको अर्यालले जानकारी दिए। समयचक्र डटकम

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन