भदौ १५ गतेभित्र रास्वपाले केन्द्रीय समितिको बैठक बोलाउने



काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भदौ १५ भित्र केन्द्रीय समिति बैठक बोलाउने तयारीमा छ ।

भदौ १५ भित्र सकारका कामको समीक्षा र पार्टीका सांगठनिक एजेन्डाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्ने रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताए ।


Advertisement

रास्वपाले अहिले जिल्ला, पालिका र वडा तहमा कार्यकर्ता भेलालाई तीव्रता दिएको छ । पार्टीका भेलाहरूलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू जिल्ला–जिल्लामा रहेको बुर्लाकोटीले बताए ।  ‘अहिले पार्टीले जिल्ला, पालिका र वडा तहको कार्यकर्ता भेलालाई तीव्रता दिएको छ । भदौ १५ भित्र केन्द्रीय समिति बैठक बस्ने तयारी छ,’ उनले भने ।

रास्वपाले अहिले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव सङ्कलन गरिरहेको छ । हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरी नागरिक कहाँ पुगेर दस्ताबेजका लागि सुझाव लिइरहेको उनको भनाइ छ ।

पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव सङ्कलन गरिरहेका छन् । ‘नयाँ युगको सङ्कल्प’ दस्तावेज तयार गर्ने क्रममा प्रतिनिधिमण्डलका सदस्यले एक स्थानमा पाँच दिन समय दिएर तीन ठाउँमा पुग्नुपर्ने हुन्छ । सुझाव सङ्कलनका लागि तोकिएको १५ दिनको समय सीमा सकिन लागेको छ । सुझाव सङ्कलनको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ । यता भदौबाट वडा समितिका उम्मेदवार सङ्कलन सुरु गर्ने भनिएको कार्यक्रम भने असोजलाई सारिएको छ । 

रास्वपाका सहमहामन्त्री बुर्लाकोटीले भने, ‘भदौदेखि वडा समितिको उम्मेदवार अनलाइनबाट सङ्कलन गर्ने कार्य असोजलाई सारिएको छ । असोज महिनाभरि हामीले उम्मेदवारी लिन्छौँ ।’ उम्मेदवार सङ्कलन गरेपछि अनलाइन भोटिङमार्फत वडा समिति गठन गर्ने रास्वपाको तयारी छ । ‘सम्बन्धित वडाले प्रचार–प्रसारको काम भेला भएर गर्छन् । निर्वाचन भने अनलाइनमार्फत नै हुन्छ,’ बुर्लाकोटी भन्छन् ।

रास्वपाको वडा समितिमा  वडाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरू रहने व्यवस्था छ । ११ सदस्यीय वडा समितिमा ४ जना महिला अनिवार्य हुनुपर्ने छ भने त्यसमध्ये एकजना दलित महिला सदस्य पनि रास्वपाले अनिवार्य गरेको छ । ‘जुन वडामा दलित महिला छैन, त्यो वडामा त्यो पद खाली हुने व्यवस्था छ । त्यहाँ १० सदस्य समिति मात्र हुन्छ,’ उनले भने । 

रास्वपाले डिजिटल युगको प्रारम्भ वडा कमिटीबाटै गर्न लागेको बुर्लाकोटीको भनाइ छ । ‘वडा–वडामा रास्वपा’ भन्ने अवधारणामा काम भइरहेको उनले बताए । रास्वपाले पार्टी गठनको एक वर्षमा करिब १ हजार वडामा कमिटी बनाइसकेको बुर्लाकोटीको दाबी छ । ‘उक्त वडाको केन्द्रीय अभिलेखीकरण भइरहेको छ । त्यो वडामा चाहिँ चुनाव हुँदैन । वर्तमान समितिले नै काम गर्छ । अभिलेखीकरणमा नआएका वडाको चुनाव गरेर कमिटीलाई अन्तिम रुप दिन्छौँ,’ उनी भन्छन् ।

वडा समितिलाई अभिलेखीकरणमा आउनका लागि रास्वपाले केही मापदण्ड राखेको छ । बुर्लाकोटीका अनुसार मापदण्ड पुरा नभएका वडाको अभिलेखीकरण हुँदैन । रास्वपाले मापदण्डमा मुख्यतः तीनवटा कुरा राखेको छ । ‘एउटा दलित महिला सदस्य हुनुपर्‍यो । महिला ३३ प्रतिशत हुनुपर्‍यो । सम्बन्धित वडामा न्यूनतम सदस्य सङ्ख्या पुगेको हुनुपर्‍यो,’ उनले भने ।

बुर्लाकोटीका अनुसार गाउँपालिकाका वडामा कमिटी गठनका लागि न्यूनतम ३३ जना क्रियाशील सदस्य भएको हुनुपर्छ । त्यसपछि मात्र कमिटीको अभिलेखीकरण हुन्छ । यस्तै नगरपालिकाको वडामा न्यूनतम ४४ जना क्रियाशील सदस्य पुगेपछि बल्ल वडा समितिको अभिलेखीकरण हुन्छ । उपमहानगर र महानगरपालिकाका वडामा ५५ जना क्रियाशील सदस्य पुगेपछि मात्र अभिलेखीकरण हुन्छ । न्यूनतम सङ्ख्या पुगेको छैन भने सिस्टमले नै अभिलेखीकरण गर्न दिँदैन ।

उनले उदाहरण दिँदै भने, ‘काठमाडौँको १६ नम्बर वडामा ५५ जनाभन्दा तल सदस्य रहेछ भने अभिलेखीकरणमा मापदण्ड पुगेको छैन भनेर सिस्टमले दिँदैन । हामीले सबै सदस्यको डिजिटलाइज गरेका छौं ।’ सबै वडामा समिति गठन भइसकेपछि मङ्सिरमा रास्वपाका पहिलो महाधिवेशनको प्रक्रिया सुरु हुने छ । 

रास्वपाले ७ सय ५३ मध्ये करिब २ सय ९० पालिका, १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र, ७७ मध्ये ७४ जिल्ला, सात प्रदेश समिति बनाइसकेको छ । सबै पालिका र निर्वाचन क्षेत्रमा पनि समिति गठनको गृहकार्य भइरहेको भनाइ छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.