केपीलाई हतकडी लगाउन सकिन्छ भनेर नसोचे हुन्छ : अध्यक्ष ओली



भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताएका छन्। आज नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी संगठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा उनले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको जिकिर गरे।

उनले भने, ‘सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्ड छोप्न एमालेले भ्रष्टाचार गर्‍यो भनेर विषयवस्तुलाई अन्तै मोड्न खोजिँदैछ, मलाई कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन। म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदा मेरा काम कारबाही एक शब्द नचिप्लियोस् भनेर मैले कानूनका पाना पल्टाइपल्टाइ निर्णय गरेको छु त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सकिन्छ, हतकडी लगाउन सकिन्छ भनेर नसोचे हुन्छ।’


Advertisement

आफू देश बनाउने अभियानमा अगाडि बढिरहेको भन्दै उहाँले विरोधीले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गरे। ‘अहिलेको भ्रष्टाचार ढाकछोप गर्न झापाको टि स्टेटको कुरा निकाल्दै छन्, हेरे हुन्छ, त्यति खेर ७० बिघा जग्गा कसको पालामा बिक्री भएको हो, जथाभावी गर्नुहुन्न भनेर त्यसपछि मैले नियम बनाइदिएको छु, त्यसैले रोकिएको छ,’ उनले भने, ‘त्यसैले मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा कहिल्यै भैँसी पर्दैन, त्यस्ता जालो न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ।’

झुठो आरोपमा आफूलाई कसैले गोली हान्न सक्छ तर त्यसमा मलाई कुनै आपत्ति छैन भन्दै उनले पञ्चायकालमा हु्ँदै नभएको दोष लगाएर जेलमा १० वर्ष भुक्तान भइसके पनि विभिन्न बाहना बनाएर थप चार वर्ष राखे जस्तैको समय र बेला अहिले होइन भने।

अहिले जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका नाममा नेतृत्वमा रहेकाले नै जनता जुधाएर ताली बजाउन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘नुवाकोटमा वर्षको एक पटक गोरु जुधाइन्छ, विचरा ती गोरुहरूबीच कुनै द्वन्द्व हुँदैन, झगडा हुँदैन तर बाँधिरहेको ठाउँबाट फुकाएर ल्याएर त्यहाँ जुधाइन्छ, र सिङ त्यो गोरुको भाँचिन्छ, पीडा त गोरुलाई हुन्छ, जुधाउने माथि ताली बजाएर रमाइलो लिन्छन्, अहिले तिनै बाहुनले जनतालाई जुधाएर, देशका साम्प्रदायिक द्वन्द्व फैलाएर मनोरञ्जन लिइरहेका छन्, यसतर्फ जनता सचेत हुनुपर्छ।’

उनले देशमा सामाजिक एकता भड्किन कुनै गतिविधि गर्न दिन नहुने बताउँदै कोशी प्रदेशमा अहिले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको बताए। उनले सुन तस्करी प्रकरणको तत्काल छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न एमालेले माग गरे पनि सत्ता पक्षले डराएका एक महिनापछि मात्रै छानबिन गर्ने गरी सहमति गरेको बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.