हिरासतमै बलात्कार गरेको आरोपमा डिएसपी विरुद्ध उजुरी



राजविराज – सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक राईमाथि बलात्कारको आरोप लागेको छ । प्रहरी थुनामा परेका वेला गत ६ चैतमा डिएसपी राईले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दिएकी छिन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका वेला हिरासतमै प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार भएको र यातना दिइएको उजुरीमा उल्लेख छ ।

उजुरीमा ती महिलाले गत ६ चैतको राति आफूमाथि दुईपटक बलात्कार भएको उल्लेख गरेकी छिन् । उजुरीमा उल्लेख गरिएअनुसार नाम थाहा नभएका एक प्रहरीले सोधपुछका लागि हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी राईकहाँ पुर्‍याएका थिए । त्यसपछि मादक पदार्थ सेवन गरेर बसेका डिएसपीले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबर्जस्ती करणी गरेका थिए ।


Advertisement

सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर दोस्रोपटक बलात्कार गरेपश्चात् डिएसपी राईले कसैलाई भने २० वर्षसम्म जेलमा सडाइदिने धाक–धम्की दिएको उजुरीमा उल्लेख छ । बलात्कारको घटनाबारे कसैलाई नभने अभियोगबाट छुटाइदिने र जागिरमा समेत लगाइदिने प्रलोभन दिई आफूलाई अनुचित प्रभावमा पारेको पीडित महिलाले बताएकी छिन् ।

ती महिलासँगै एउटै आरोपमा हिरासतमा रहेका अन्य महिलाले आफूहरू र ती महिलालाई प्रहरीले अलग व्यवहार गर्ने गरेको बताएका छन् । उनीहरूका अनुसार अन्यलाई थुनवा कक्षमा राखिने गरे पनि ती महिलालाई दिनभर प्रहरी कार्यालयको बरन्डामा खुला रूपमा बस्न दिने गरिएको थियो । रात परेपछि मात्र उनलाई हिरासत कक्षमा ल्याउने गरिएको थियो ।

घटनाको केही दिनपछि १२ वैशाखमा अकस्मात् पेट दुखेपछि ती महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । पीडित महिलाका अनुसार मौका छोपी उनले अस्पतालका स्वास्थ्यकर्मीलाई प्रहरी अधिकृतबाट ६ चैतको राति आफू बलात्कारमा परेको तथा कसैलाई भने २० वर्ष जेलमा थुनाएर सडाइदिने धम्की दिएको जानकारी गराएकी थिइन् । अस्पतालका एक कर्मचारीका अनुसार लगत्तै घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी गराएको थियो । ‘उपचारका लागि ल्याइएकी ती महिलाले आफूमाथि जबर्जस्ती करणी भएको सुनाएपछि हामीले तुरुन्तै प्रहरीलाई जानकारी गराएका थियौँ, तर प्रहरीले अनुसन्धान नै गरेन,’ अस्पतालका एक कर्मचारीले भने ।

डिएसपी राईले भने आफूमाथि निराधार आरोप लगाइएको बताए । ‘एउटा कुनै घटनाको अनुसन्धान गर्दा यस्तो आरोप लगाइन्छ भने भोलि अरू घटनाका अनुसन्धान प्रहरीले कसरी गर्न सक्ला ? ममाथि निराधार आरोप लगाइएको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले महिलाको उजुरीबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिए । ‘यस विषयमा अनुसन्धान थालेका छौँ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट सिसिटिभी फुटेज पनि मगाएका छौँ,’ उनले भने, प्रहरीलाई फसाउने साजिस पनि हुन सक्छ, त्यसैले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’- नयाँ पत्रिकाबाट

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन