खराब मौसम कारण रेसुङ्गा विमानस्थलमा विमान आएन
गुल्मी — खराब मौसमका कारण गुल्मीको रेसुङ्गा विमानस्थलमा ह्वाई उडान प्रभावित भएको छ । शुक्रबारदेखि पुनःउडान हुने भनिएपनी मौसम प्रतिकुलता कारण नेपाल एयरलाइन्सको विमान गुल्मी आउन नसकेको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले जानकारी दिईन् ।
काठमाडौंबाट गुल्मी बिहान ६ः ३०मा ह्वाई उडान हुने भनिएपनी मौसम प्रतिकुलताका कारण उडान हुन् सकेन् । शुक्रबार विहानैदेखी मौसम खुल्न नसकेको कारण विमान दुई घण्टा काठमाडौंमै होल्ड गरेको तर मौसम सुधारमा सम्भावना नदेखिएकाले उडान रोकिएको वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर बस्नेतले बताईन् ।
गत बैशाखको अन्तिम सातादेखि व्यावसायिक उडान सुरु गरेपनी मौसमको कारण देखाएर दुई महिनादेखि विमान उड्न सकेको छैन् । एयरलाइन्सको प्रत्येक हप्ताको दुईदिन बुधबार र शुक्रबार उड्ने समय तालिका छ । काठमाडौं देखि गुल्मीको लागि ६ हजार ५ सय र गुल्मीदेखि काठमाडौंको लागि ६ हजार ३ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।
दुई हप्ता दुईबार उडान भर्ने भनिएपनि पछिल्लो समय शुक्रबार मात्रै उडान हुने भएको छ । रेसुङ्गा विमानस्थलमा विमान उडानको लागि विहानी समय उपयुक्त मानिएको थियो । मौसमको प्रतिकुलता देखाएर ह्वाई उडान रोकिँदा विमान चढेर यात्रा गर्ने गुल्मेलीको सपना अधुरै देखिएको छ ।