एसिया कप : नेपाल र भारत भिड्दै, कस्ले मार्जा बाजी ?



काठमाडौं – जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ ।


Advertisement
Advertisement
Advertisement

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो ।

त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो । नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो ।

अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अंक बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका हुन् ।

समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अंक बाँड्दै तीन अंकका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अंक छ । एक खेल खेलेको नेपाल अंकविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.