नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन



काठमाडौ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।काठमाडौँको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजादैगर्दा उनकाे निधन भएको स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिएका छन्।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाे थियो। चिकित्सकहरूले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएकाे छ।


Advertisement

संविधान लेखनमा अतुलनीय योगदान पुर्‍याएका संविधानसभाका अध्यक्ष नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।

दुईपटक संविधानसभाको अध्यक्ष र पाँचपटक सभामुख भएका नेम्वाङ हाल एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत हुन्।

नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल, उपाध्यक्ष विष्णु पाैडेल अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

काे हुन् सुवासचन्द्र नेम्वाङ?

स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डिनेसन केन्द्र, नेकपा (माले)मा सङ्गठित हुँदै एमाले केन्द्रिय न्यायिक समिति सदस्य र हाल एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेतासमेत थिए।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष–सभामुख भएका थिए।

उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.