डाक्टर अभावले गुल्मी अस्पतालमा बढ्न थाल्यो बिरामीको चाँप



गुल्मी : अर्घाखाँचीको छत्रदेव ७ काउलेकी प्रशंसा मरासिनीलाई सामान्य पेट दुख्ने र नियमित बान्ता भएपछी परिवारले गत भदौ ११ गते गुल्मी अस्पतालमा भर्ना गरे। प्रंशसाको उपचारको क्रममा भदौ १२ गते अस्पतालमा ज्यान गयो। 

अस्पतालको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेनन्। दिनभर अस्पताल र प्रशासन कार्यालय परिसर तनावग्रस्त बन्यो। आफन्तले न्याय माग्दै आन्दोलन गरे। आफन्तले टायरमा पेट्रोल बालेर प्रर्दशन गर्दा आगो सल्केर तीनजना आफन्त घाइते भए। 


Advertisement

आन्दोलनले उग्र रुप लिएपछि घटनाबारे सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेको नेतृत्वमा छानविन समिति गठन भयो। छानविन समितिले उपचारमा खटिएका डाक्टर र नर्सबाट बयान लियो। अहिलेसम्म घटनाको छानबिन भईरहेको छ। उपचारमा खटिएका डाक्टरले प्रतिवेदन बुझाएका छन्। 

पोस्टमार्टम रिपोर्ट ,सिसिटिभि फुटेजको अनुसन्धान चलिरहेको छ। घटना घटेको एकदिन पहिले नै गुल्मी अस्पताल प्रमुख डा. राजेन्द्र जिसीको पाल्पा सरुवा भएको थियो। तर, पछिल्लो समय तालिम, प्रशासनिक काम तथा डे अफ बिदा देखाएर गुल्मी अस्पतालका डाक्टरले अस्पताल छोड्ने गरेका छन्। एकातिर डाक्टर विभिन्न शीर्षकमा बिदामा बसिरहेका छन् भने अर्कातिर अस्पतालमा बिरामीको चाँप बढ्ने गरेको छ। 

यस अस्पतालमा दैनिक गुल्मीसहित आसपासका क्षेत्रबाट सयौं बिरामी आउने गर्दछन्। तर अस्पतालमा आवश्यक दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी उपचारमा समस्या भोग्न बाध्य छन्। ग्रामीण क्षेत्रबाट उपचारको लागि जिल्लाको सदरमुकाम तम्घास स्थित सरकारी अस्पतालमा डाक्टरको अभावले सेवाग्राहीमा थप निराशा पैदा भएको छ। अस्पतालमा डाक्टरको अभावले सामान्य  उपचारको लागि पाल्पा, बुटवल जानुपर्ने अवस्था सिर्जना भएको सेवाग्राहीको गुनासो छ। 

गुल्मी अस्पतालमा १० जना विशेषज्ञ र १५ जना डाक्टरको दरबन्दी रहेको छ। अस्पतालमा यतिबेला एकजना दरबन्दीका डाक्टर छैनन्। 

अस्पताल विगत २ सातादेखि कार्यालय प्रमुखविहीन छ। हाल छात्रावृत्ति करारमा  ८ जना डाक्टर कार्यरत भए पनि बिदाका कारण बिरामीले उपचार पाउन सकेका छैनन्। सामान्य उपचारको लागि डाक्टरको अभावले जिल्ला बाहिर जानुपर्ने अवस्था आएको बिरामी उमी क्षत्रीले गुनासो गरिन्। ‘अस्पतालमा सयौं बिरामीको लहर छ’, बिरामी क्षेत्रीले भनिन् , ‘डाक्टरको अभावले उपचारबिना घरै फर्किनु पर्छ।’

उनी जस्तै गाउँबाट उपचारको लागि जिल्ला आएकी सम्झना घिमिरे सरकारी अस्पतालमा डाक्टरको अभाव हुनु दुखद विषय रहेको बताइन्।  

पछिल्लो समय अध्ययनको लागि डाक्टर विदेशिने र सानो ठाउँ भएकाले अवसरको खोजीमा ठूलो शहर रोज्ने गरेको गुल्मी अस्पतालका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए। तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गरी सरल र सहज ढंगले नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्न अस्पताल प्रशासनले डाक्टरको मागसहितको पत्र र इमेल प्रदेश पठाएको अध्यक्ष पाण्डेले बताए। 

हाल सम्म जनशक्ति अभाव देखाएर डाक्टर प्रदेशले पठाएको छैन। नागरिको लागि स्वास्थ्य सेवा अत्यावश्यक भएकाले अस्पतालमा डाक्टरको व्यावस्थापन गर्न सम्बन्धित निकाय सबैले पहल गरिदिन अध्यक्ष पाण्डेले आग्रह गरेका छन्। 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.