गुल्मीमा पछिल्लो छ महिनामा ३८ जनाले गरे आत्महत्या



गुल्मी – गुल्मीमा पछिल्लो छ महिनामा ३८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार साउन देखि हालसम्म झुण्डिएर, बिष सेवन गरेर, खोलामा हाम फालेर र आत्महत्या दुरुत्साहन गरि सोही सङ्ख्यामा आत्महत्या गरेको देखिएको छ ।

यो अवधिमा झुण्डिएर ३३ जना, बिष सेवन गरेर २ जना, खोलामा हाम फालेर २ जना र दुरुत्साहन १ जना गरि कुल ३८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधवराज खरलले जानकारी दिनुभयो । उहाँका अनुसार आत्महत्या गर्नेमा कम्तीमा १४ वर्ष देखि बढीमा ८६ वर्ष उमेरका ब्यक्तिहरु छन् । आत्महत्याको मुख्य कारण डिप्रेशन देखिएको छ ।


Advertisement

आत्महत्याका कारणहरुमा सबैभन्दा बढीमा डिप्रेशनको समस्या देखिने गरेको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो । “आत्महत्या गर्नेहरु प्राय केही समय पहिले डिप्रेशनमा गएको देखिन्छ” खरेलले भन्नुभयो, “धेरै समस्याका कारण डिप्रेशनमा जाने अनि मृत्युको बाटो रोज्ने गरेको अनुसन्धानबाट खुलेको छ ।” आर्थिक विपन्नता, पारिवारिक कलह, पटकपटकको असफलता, मदिरा सेवन गर्न, लागुऔषधको लतमा फस्नु र केही गर्न नसक्ने कारणले मानिसहरु डिप्रेशनमा गएको देखिन्छ ।

गुल्मीमा अघिल्ला वर्षहरुमा पनि आत्महत्या गर्नेहरुको तथ्याङ्क डर लाग्दो रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कुल ९६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै २०७८/०७९ मा ७१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा देखिन्छ । अघिल्ला दुई वर्षमा आत्महत्या गर्नेमा एक सय ४७ जना झुण्डिएर, बिष सेवन गरेर १२ जना, दुरुत्साहनमा चार जना, पानीमा हाम फालेर दुई जना र चक्कु प्रहार गरेर एक जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

आत्महत्याको सङ्ख्या बढेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्ला प्रशासन कार्यालय गुल्मी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीसँग सहकार्य गरेर जनचेतनाका कार्यक्रम गर्न चालेको छ । प्रहरी कार्यालयका सुचना अधिकारी खरेलका अनुसार रेडियोबाट जनचेतनामूलक अडियोहरु बजाएर अभियान सुरु गरिएको हो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन