मालिका पहुँचमार्गको सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती



गुल्मी : गुल्मीमा ठेकेदार कम्पनीको लापरबाहीले मालिका पहुँचमार्ग अन्तर्गतको सडक ग्रावेलको काममा ढिलाइ भएको छ। सडक ग्रावेलका काममा भएको ढिलासुस्तीले घमिर, अर्खावाङ, छापहिले लगायतका क्षेत्रका स्थानीयले आवतजावतमा सास्ती खेप्नु परेको छ। ठेकेदार कम्पनीको मनोमानी र ढिलासुस्तीले मालिका पहुँचमार्ग अन्तर्गतको सिलादी, घमिर, अर्खावाङ सडक विगत केही महिनादेखि अलपत्र जस्तै बनेको छ। 

चम्फेश्वर शुसान जेभी काठमाडौंले सडक ग्रावेलको जिम्मा पाएको छ। निर्माण कम्पनीले  कछुवाको गतिमा काम गर्दा स्थानीय ठेकेदारसँग आजित मात्रै बनेका छैनन् उनीहरू आक्रोशित समेत बनेका छन्।


Advertisement

विभिन्न बाहान बनाएर ठेकेदारले काममा ढिलासुस्ती गरेको स्थानीयको आरोप छ।  सडकमा अव्यवस्थित निर्माण सामग्री राखेर आवतजावतमै सास्ती खेप्नु परेको स्थानीय शिवबहादुर कार्कीले गुनासो गरे। ‘वषौंदेखि हामीले हिउँमा धुलो र बर्खामा हिलो खेप्न बाध्य छौं। स्थानीय कार्कीले भने ‘ठेकेदारले काम सुरु गरेपछि केही खुसी पलाएको थियो तर काम देख्दा सबै आश मरे।’

सडक पूर्वाधार कार्यालयसँग २०७९ माघ २६ गते काम सम्पन्न गर्नेगरी श्री चम्फेश्वर शुसान जे.भि काठमाडौंले २०७७ माघ २८ गते योजना सम्झौता गरेको थियो। कामको सम्झौता मिति सकिँदा समेत निर्माण कम्पनीले हालसम्म ४० प्रतिशत मात्रै काम गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

उक्त निर्माण कम्पनीले ९ करोड १७ लाख ५१ हजार ३४ रुपैयाँमा १५ किलोमिटर सडक ग्रावेलको जिम्मा लिएको थियो। सडक ग्रावेलमा ढिलासुस्ती र  ठेकेदारको बेवास्ताले सडकको नाली कतै फुटेका छन् कतै साघुँरिएका छन्। 

निर्माण कम्पनी लाचार बन्दा स्थानीयको घरजग्गामा भल पानी पस्ने गरेको छ। हालसम्म ठेकेदारले सडकमा प्रयोग गरिएका सामाग्री र ग्रावेलको काम समेत कमसल गरेको कतिपय स्थानीयको गुनासो छ। सडकको कामले गति नलिँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्नुपरेको सवारी चालक वेद थापाले बताए। 

मालिका गाउँपालिकाको केन्द्र अर्खावाङ पुग्न यो सडक सजिलो र छिटो मानिन्छ। कयौंपटक सडक स्तरउन्नतिको प्रलोभन देखाएर स्थानीय तहदेखि केन्द्रसम्म नेताले निर्वाचन जितेका छन्। चुनावी समयमा जनतालाई नेतालले दिएका प्रतिवद्धता नारामै सीमित छन्।

यसै क्षेत्रका गोर्कण विष्ट संघीय सांसद र दिनेश पन्थी प्रदेश सांसद हुन्। निर्वाचन जितेर गएपछि आफ्ना प्रतिवद्धता पूरा गर्न नेताले नै चासो नदिएको स्थानीय लिला थापाले गुनासो गरिन्। सडक ग्रावेलको काम छिटो छरितो गर्न पालिका र वडाले नियमित चासो दिइरहेको छ। 

बजेट र काम गर्ने वातावरण हुँदा हुँदै पनि निर्माण व्यवसायीले काम नगरेको जनप्रतिनिधिको उल्टै गुनासो छ। काममा बेवास्ता र मनोमानी गर्ने ठेकेदारलाई ताकेता र फोन गर्दा गर्दै जनप्रतिनिधि समेत आजित बनिसकेको मालिका गाउँपालिका ०७ घमिरका वडाध्यक्ष हिरा बहादुर कार्कीले बताए।’निर्माण व्यावसायीले पहुँचको भरमा ठेक्का पार्छन् तर मन दिएर काम गर्दैनन्’, वडाध्यक्ष कार्कीले भने ‘त्यसका प्रत्यक्ष मार हामी र जनताले खेप्नु परेको छ।’

निर्माण कम्पनीले २०८० माघ २६ गते काम सक्नेगरी पहिलो पटक म्याद थप गरेको छ। हालसम्म कम्पनीले ३ करोड ६३ लाख ७ हजार ५ सय १६ रुपैयाँ भुक्तानी लिएको छ। काम अलपत्र पारेपछि कार्यालयले पटक पटक पत्रचार गरेको छ। तत्काल काम सुरु नगरे कारबाही प्रक्रिया अगाडि बढाउने सडक पूर्वाधार कार्यालयका प्रमुख सचितानन्द चौधरीले जानकारी दिए। 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.