प्रहरीको सार्वजनिक सुनुवाइ :मदिरा र लागुऔषध नियन्त्रण गर्न माग



गुल्मी – गुल्मीमा बढ्दो लागुऔषध र मदिरा नियन्त्रणको माग गरेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सार्वाजानिक सुनुवाई कार्यक्रममा बोल्दै सहभागीले पछिल्लो समय समाजमा बढ्दो मादक पर्दाथ तथा लागुऔषध सेवनले घटना निम्त्याएको र यसको न्यूनीकरण गर्नुपर्ने माग राखेका छन् ।

सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागीले बढ्दो मादक पर्दाथ तथा लागुऔषध सेवन,चाडपर्वको अवसरमा हुने जुवातास,रेसुगां विमानस्थलमा सुरक्षा,थप सचेतनामूलक कार्यक्रम सहित समाजमा शान्ति सुरक्षाको माग राखेका थिए । रेसुगां नगरपालिका १० वडाकार्यालयको सभाकक्षमा प्रहरी निरीक्षक किरण सापकोटाले गत र चालु आर्थिक बर्षमा प्रहरी कार्यालय र शाखाले गरेका कामको जानकारी दिएका थिए ।


Advertisement

आर्थिक बर्ष २०७९/०८० मा ३१ जना नागरिक हराएका प्रहरीमा उजुरी परेका थिए । जसमा २१ जना फेला परेका छन् भने १० जना हालसम्म फेला परेका छैनन् । चालु आर्थिक बर्षमा हराएका चार मध्ये दुई भेटिएका छन् । दुई जना अझै फेला परेका छैनन् । प्रहरी कार्यालय गुल्मीबाट गत आर्थिक बर्षमा पहिरो,आगलागी,चट्याङ,नागरिकता,जंगली जनावरको क्षति र डकुमेन्ट हराएको गरी कुल २ सय ७१ सिफारिस नागरिकले लिएकोे प्रहरी निरीक्षक सापकोटाले बताए । त्यस्तै प्रकृतिका यस आर्थिक बर्षमा हालसम्म एक सय सिफारिस लिएका छन् । गतबर्ष आगलागी,चट्याङ,डुबान,पहिरो,बर्षा र हावाहुरीबाट २ सय ३ घटना भएका छन् । जसमा १४ जनाले ज्यान गुमाएका थिए ।

प्रहरी निरीक्षक सापकोटाले आर्थिक बर्ष ०७९/०८० मा २४ वटा र पछिल्लो आर्थिक बर्षमा ५९ वटा साईबर अपराध संबन्धि उजुरी प्रहरीमा परेको जानकारी दिए । पछिल्लो दुई बर्षमा १४ वटा मात्र मुद्धा भएका छन । गतबर्ष ६ वटा अनलाईन मार्फत ठगी भएको रकम फिर्ता गराएको र ४ वटा फेसबुक आईडि बन्द गराईएको प्रहरी निरीक्षक सापकोटाले बताए । अनलाईन मार्फत विभिन्न प्रलोभन देखाउने र कैंयौंको रकम ठगि गरेका घटना बढेकोले उनले सचेत रहन आग्रह गरे । त्यस्तै ब्यक्तिका मोवाईल हराउने क्रम पनि बढेको उनले बताए।

सार्वजानिक सुनुवाई सुशासनको मरुदण्ड भएको बताउँदै प्रहरीले गरेका सेवा प्रवाह जान्न पाउनु नागरिकको दायित्व रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताएका छन् । समाजमा पछिल्लो समय अपराध र मादक पदार्थ सेवनबाट घटना बढिरहेको छन । अध्यक्ष पाण्डेले भने “अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गाउँतहका नागरिकसम्म आवश्यक रहेको छ ।” जसले समाजमा शान्ति सुरक्षा चयनमा थप टेवा पुग्ने छ ।

सार्वजानिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,नागरिक समाज,समाजसेवी,कर्मचारी लगायतका बौद्धिक ब्यक्ति सहभागी थिए । शान्ति सुरक्षा जिल्लाको महत्वपूर्ण सेवा प्रवाहसंग जोडिएको हुन्छ । त्यसमा सबैभन्दा बढि भूमिका प्रहरी प्रशासनको हुने प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सीले बताए । “नागरिकका समस्या खोजेर सुधार्ने दायित्व प्रहरी प्रशासनको हो ।” प्रजिअ के.सीले भने ´त्यसैले प्रहरीलाई साथी र संरक्षक बुझेर उनीहरुको मनोबल बढाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।`

दिनरात प्रहरी फिल्डमा खटिने गरेकाले गुल्मीमा शान्ति सुरक्षा,अपराध नियन्त्रण,अपराधीलाई कानुनी दायरामा ल्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताए । कार्यक्रममा सहभागीले राखेका प्रश्न र जिज्ञासा जवाफ दिदै प्रहरी उपरीक्षक प्रधानले आफूहरु नागरिकको सुरक्षामा प्रतिवद्ध रहेको र अपराध न्यूनिकरणमा १० बुँदे कार्ययोजना बनाएर प्रहरी अगाडी बढेको बताए ।

नेपालीका बडादशै, दिपावली लगायतका चाडपर्व भित्रिसकेका छन् । यो समयमा समाजमा घट्ने विभिन्न खालका घटनाको प्रहरी समक्ष खबर गरी जिल्लामा शान्ति सुरक्षा कायम राख्नमा सहयोग गर्ने सहभागीले बताएका छन् । सुरक्षा मानव जीवनमा महत्वपूर्ण मानिन्छ । तर,गाउँसमाजमा भौतिक विकास भई सुरक्षा खुकुलो भएमा यसको कुनै अर्थ नरेहेको रेसुगां नगरपालिका १० का वडाध्यक्ष राम बहादुर बस्नेतले बताए । सदरमुकामकै काखमा अबस्थित वडा र रेसुगां विमानस्थलको सुरक्षार्थ अस्थायी प्रहरी चौकीको माग गरेको वडाध्यक्ष बस्नेतले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन