सवारी र सडकको पहुँचले दसैंमा रातोमाटो पाइने चौर सुनसान



गुल्मी – दसैं तिहार लगायतका चाडपर्व नागरिकको घरदैलोमा आइपुगेका छन्। ग्रामीण क्षेत्रका कच्चीघर रातोमाटो र कमेरोले चटक्क सिँगारिन थालेका छन्। 

आधुनिक प्रविधिमा बनेका घर रगंरोगन भइरहेका छन्। घरपरिवार र आफन्तसँगै दसैं मनाउन परदेशी घर आउने क्रम जारी छ। परदेशी र मानिसको बाक्लो उपस्थितीले यतिबेला गाउँबस्ती गुन्जाएमान बनिरहेका छन्। 


Advertisement

घटस्थापनाका दिनदेखि गाउँघरका शक्तीपिठमा पूजाआजा सुरु भइरहेको छ। केही वर्ष पहिले दसैं आउने दिन गन्दै गाउँलेहरू घर लिपपोतका लागि रातोमाटो लिने राङ्दलचौर र सिलादी पुग्नेको भीड नै हुन्थ्यो तर यतिबेला यी चौर सुनसान जस्तै छन्। पछिल्लो समय सवारी र सडक सुविधाले गाउँका घर घरमा रातोमाटो पुग्ने गरेको छ। 

बढ्दो सवारीको प्रयोगले मानिस विलासी बन्दै गएकाले रातोमाटो पाइने चौर सुनसान भएको इस्मा गाउँपालिका-६ अमंरपुरका पदम मुखियाले बताए। घर लिपपोतका लागि गुल्मीको राङ्दलचौर र सिलादीको रातोमाटो प्रख्यात मानिन्छ। 

दसैं तिहार लगायतका चाडपर्वमा घर लिपपोतका लागि यहाँको माटो गाउँका कुनाकन्दरादेखि सहरका गल्ली पुग्छ। बढ्दो बसाइसराई, सवारी र सडकको पहुँचले रातोमाटो र यस क्षेत्रको दैनिक पहिचान हराउँदै गएको मुखिया बताउँछन्। 

केही समय पहिले माटो लिन स्थानीय भाका गाउँदै, नाच्दै गाउँले बासबस्ने गरी राङ्दलचौर आउँथे। पदमले भने तर पछिल्लो समय गाउँघरमा सवारी को आवतजावत र मानिस विलासी बन्नाले यतिबेला चौर सुनसान मात्रै छैनन् रमणीय वातावरण पूर्ण रूपमा लोप हुन थालेको छ। 

यहाँको रातोमाटो गुल्मी, बाग्लुङ , प्युठान, पाल्पा, रूपन्देही लगायतका जिल्लामा पुग्ने गर्छ। माटो लिन उपस्थिति हुने मानिसको संख्या अहिले शून्य हुँदा रातो माटो संस्कृति र गुल्मीको मौलिक पहिचान नै जोखिममा परेको स्थानीय धनबहादुर कुमालको गुनासो छ।  

पहिला स्थानियले निःशुल्क रूपमा माटो खनेर घर लिपपोत गर्दा यसको गरिमा र महत्व संस्कृतिका रूपमा विकास भएको कुमालले बताए। अहिले सवारी र सडक सुविधाका कारण माटो सशुल्क घरघरमा बिक्रि गरिन्छ। विस्तारै माटो र चौरको महत्व हराउँदै गएको उनले बताएका छन्।  

कतिपय कुमाल समुदायले स्थानीय रातोमाटो बेचेर जीविको चलाएका छन्। माटो संस्कृति र जीविकोपार्जनको माध्यम समेत कमी आएको छ। धेरै स्थानमा प्रसिद्ध मानिने रातो माटो शक्तिपिठमा पुग्छ। 

यस क्षेत्रको माटो र पहिचान बचाइराख्न नागरिक तहदेखि सरकारले पुरानो संस्कृति जोगाउँदै नयाँ सेवा सुविधालाई अंगाल्न सके यसको महत्व पुन झल्किने देखिन्छ। 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.