गुल्मीमा भुस्याहा कुकुरको टोकाइबाट १७ जना घाइते
गुल्मी – पछिल्लो समय गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । भुस्याहा कुकुरले हिडिरहेका मान्छेलाई झम्टिन खोज्ने, साना तथा ठुला मोटरसाइकलको पछिपछि लागेर दुःख दिने र टोक्ने लगायतका समस्या भोग्न सर्वसाधारण बाध्य छन् । जताततै भेटिने त्यस्ता कुकुरले किसानले पालेका पशुचौपाया र मानिसलाई नै टोकेर क्षति पुर्याउने गरेका हुन् । गुल्मीमा दुईदिनको अन्तरालमा भुस्याहा कुकुरले टाेकेर १७ जना घाइते भएका छन् ।
बुधबार र बिहिवार जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका र छत्रकाेट गाउँपालिकामा कुकुरले टाेक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
भुस्याहा कुकुरको टोकाइबाट घाइते भएका १३ बर्सदेखी ७५ बर्ष उमेर समुह रहेको र घाइतेकाे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि मिसन अस्पताल पाल्पामा थप उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
भुस्याहा कुकुरले जहाँ जस्तो समयमा पनि टोक्न सक्ने भएकाले कुकुरदेखि सावधान रहन जिल्ला प्रहरी कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ ।जिल्लाको सदरमुकाम बजारमा सवारीसाधन र मानिसको आवातजावत कम हुने समयमा भुस्याहा कुकुरको गतिविधि बढ्ने गरेको छ ।