गुल्मी कांग्रेसद्धारा आगामी कार्ययोजना सार्वजानिक
गुल्मी – नेपाली कांग्रेस गुल्मीले आगामी कार्ययोजना सार्वजानिक गरेको छ । सोमबार नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलनको आयोजना गरेर दोस्रो जिल्ला सम्मेलनबाट आगामी एक बर्षको कार्ययोजना सार्वजानिक गरेको हो । मङ्सिर ९ गते चिदिचौर खेलमैदानमा खुला सत्र र १० गते बन्द सत्रको कार्यक्रममा विगतको समिक्षा गर्दै आगामी बर्षको लागि महत्वपूर्ण कार्ययोजना तय गरेको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।
पार्टीका दिवसहरु नियमित मनाइने, युवा सम्मेलनको आयोजना गरिने ,युवा उद्यमहरु सञ्चालन गरिने,“गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल”अभियान अन्तर्गत वडा, टोल प्रशिक्षण लगायतका कार्यक्रम संचालन गरिने नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए । आगामी एक वर्षको योजना अनुरुप कांग्रेसलाई जिल्लामा पहिलो र बलियो पार्टीका रुपमा स्थापित गर्दै पार्टीको नियमित बैठक, तह अनुसार छुट्टाछुट्टै लेबिको व्यवस्था , युवालाई प्रशिक्षण दिइने सभापति पन्थीले बताए ।
पछिल्लो समय पुराना र मुख्य दलबाट नेपाली जनता आजित बनेकोे संज्ञा दिदैं सभापति पन्थीले कांग्रेस गुल्मीको दोस्रो सम्मेलनले केहि उत्साह थपेपनि आगामी दिनमा पार्टी नयाँ योजनाका जनता माझ पुग्ने बताए । हजारौं दर्शकको उपस्थितिले नेपाली कांग्रेस पार्टी जिल्लामै बलियो जिल्ला सम्मेलन ऐतिहासिक बनेको नेपाली कांग्रेस गुल्मीका सचीव भगतसिंह खड्काले बताए ।
सम्मेलन सफल बनाउन लाग्ने सबैलाई धन्यबाद दिदैँ सचीव खड्काले जनताको मर्म र आवश्यकता हेरेर काम गर्न सकेमा पुरानो दलको मान्यता यथावत नै रहेने बताए । जिल्ला सम्मेलनमा केन्द्रीय महामन्त्री गगन थापा, केन्द्रीय सदस्य नैन सिंह महर, चन्द्र भण्डारी ,चन्द्र केसी, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका छिमेकी जिल्लाका नेता सहभागी थिए ।