दुर्गम गाउँका विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै यु डब्लू एस
गुल्मी – यु डब्लू एस नेपालले देशका तीन जिल्लाका दुर्गम गाउँमा पुगेर शैक्षिक विकासमा टेवा पुराउँदै आएको छ । चैत्र २०७२ सालमा स्थापना भएको उक्त संस्थाले संखुवासभा,ताप्लेजुङ र गुल्मी गरी तीन जिल्लाका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदानमा टेवा दिदैँ आएको हो । ग्रामिण भेगमा अवस्थित सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि काम गर्दै आएको संस्थाले तीन जिल्लाका ७६ वटा विद्यालयमा पाँच सय नौ कक्षाकोठाका भवन निर्माण गरेको छ । गैर नाफामुखी संस्थाको रुपमा स्थापना भएको संस्थाबाट १३ हजार नौ सय २८ जना बालबालिका लाभाम्वित छन् । ग्रामिण,सिमान्तकृत तथा पहुँच विहिन दुरदराजका बालकालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदानका लागि संस्थाले सामुदायिक विद्यालयमा पुगेर भौतिक निर्माण तथा संचालन गरिरहेको यु डब्लू एस नेपालका कार्यक्रम प्रमुख अभिनाश झाले जानकारी दिए ।
“यु डब्लू एस नेपालले विद्यालय वा स्थानीय तहसंग पाँच बर्षको सहकार्य गर्छ । यो समयमा संस्थाले विद्यालयलाई आवश्यक पर्ने स्रोतसाधन, शैक्षिक उपकरण, आवश्यकता बमोजिम शिक्षकहरुको व्यावस्थापन गर्ने गर्छ ।” कार्यक्रम प्रमुख झाले भने “समयवधि समाप्तपछि विद्यालय स्थानीय तहलाई हस्तान्तरण गछौं । त्यसको व्यावस्थापन र संचालनको जिम्मेवारी स्वयम स्थानीय तहले लिनुपर्छ । कार्यक्रमको निरन्तरताको लागि संस्थाले समय समयमा विद्यालयको निरिक्षण र आवश्यक सुझाव दिइरहने छ ।” गुणस्तरीय तथा समावेशी शिक्षा प्रवद्र्धनका लागि यु डब्लू एस नेपालले गुल्मीमा एकदिने पालिकास्तरीय समीक्षा गरेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगामा अवस्थित होटल पौवामा स्थानीय तहका जनप्रतिनिधि, संघ तथा प्रदेश सभाका सदस्यहरु, सामाजिक विकास समितिका संयोजक लगायत शैक्षिक सरोकारवाला व्यक्तित्वसंग समीक्षा गरेको हो । यु डब्लू एस नेपाल, यु डब्लू एस युके को सहयोगमा नेपालका पिछडिएका तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई शैक्षिक अवसर र पहुँच प्रदान गरिरहेको संस्थाले जनाएको छ ।
गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् । जसमा यु डब्लू एस नेपालले जिल्लाका छ वटा स्थानीय तहका केही विद्यालयको शैक्षिक विकासमा राम्रो टेवा पुप्याउँदै आएको छ । २०७४ सालदेखि उक्त संस्थासंगको सहकार्यमा जिल्लाको रेसुंगा नगरपालिका,मुसिकाट नगरपालिका, धुर्कोट,मदाने,मालिका र इस्मा गाउँपालिकाले काम गरिरहेका छन् । हालसम्म संस्थाले जिल्लाभर १८ वटा विद्यालय निर्माण गरेको छ । संस्थाले १७ वटा विद्यालयमा शैक्षिक कार्यक्रम सुरु गरेको छ भने १ विद्यालय निर्माणधिन अवस्थामा छ । त्यस विद्यालयमा छिट्टै शैक्षिक कार्यक्रम संचालनको तयारी भईरहेको छ ।
यु डब्लू एस नेपालले स्थानीय तहका सबै विद्यालयहरुलाई केन्द्रित गरी प्रशिक्षण दिने व्यवस्था गर्न सकेमा हरेक पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सकिने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सुझाव दिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले शैक्षिक क्षेत्रमा तथा चेतनाको विकासमा गुल्मी अगाडी रहेको रहेको छ । पछिल्लो समय बसाइसराई गर्ने विदेशीनेको संख्या बढिरहेको छ यसको समाधान र जिल्लामा गुणस्तरी शिक्षा प्रदान गर्न संस्था र स्थानीय तह समन्वय गरेर अगाडी बढ्न आवश्यक रहेको बताए ।
विद्यार्थीको आवश्यकता र शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम भएकाले विद्यार्थीमा शैक्षिक सुधारमा टेवा पुगेको बताउँदै स्थानीय तहका जनप्रतिनिधिले संस्थाको खुलेरै प्रशंसा गरेका थिए । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएपनि यसमा केही चुनौती रहेको बताउँदै जनप्रतिनिधिले संस्थासंगको सहकार्यमा काम गर्न सकारात्मक रहेको बताएका छन् ।