गुल्मीमा सकियो एमालेको पालिकास्तरीय प्रशिक्षण अभियान



गुल्मी – नेकपा कम्युनिस्ट पार्टी एमाले गुल्मीले केन्द्रीय स्कुल विभागको पाठ्यक्रम अनुसार जिल्लाका १२ स्थानीय तहमा दुई दिने प्रशिक्षण सम्पन्न गरेको छ । वैचारिक स्तरवृद्धिका लागि गत मंसिर ११ गतेदेखि रेसुंगा नगरपालिकादेखि प्रारम्भ भएको प्रशिक्षण अभियान पौष २ गते चन्द्रकोट गाउँपालिकामा सकिएको नेकपा एमाले गुल्मीले जनाएको छ ।

मंगलबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन मार्फत स्थानीय तहमा पालिका स्तरीय नेतालाई सहभागी बनाई गरिएको प्रशिक्षण अभियानबाट एमाले पार्टीमा नयाँ उत्साह थपेको पोलिटब्युरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले बताए । “अहिले जिल्लाका सबै स्थानीय तहमा पुगेर दिएको प्रशिक्षणबाट प्रशिक्षक समेत तयार गरेका छौं,” इन्चार्ज थापाले भने “प्रशिक्षकमा तयार हुनुभएका उहाँहरुले जिल्लाका सबै वडातहमा पुगेर प्रशिक्षण दिनुहुने छ ।”


Advertisement

पार्टीको स्तर उठाएर गुणस्तरीय नेता तथा कार्यकर्ता उत्पादनका लागि जिल्लाभरका वडामा प्रशिक्षण अभियानको प्रारम्भ गर्ने एमाले गुल्मीले जनाएको छ । पालिका स्तरीय नेता सहित प्रशिक्षण अभियानमा आठ सय जना सहभागी थिए । देशभर सुरु भएको एमालेको प्रशिक्षण अभियान पालिकास्तरमा सम्पन्न गर्नेमा गुल्मी पहिलो बनेको छ । अभियानका क्रममा जिल्लाका थुप्रै ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्र,सडकहरुको अवलोकन गरेको थापाले बताए । प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यभार र कार्यदिशा, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासका विषयमा प्रशिक्षण दिएका थिए ।


त्यस्तै पार्टी संगठन र व्यवस्थापनका विषयमा केन्द्रीय सदस्य तथा प्रदेश सांसद दिनेश पन्थी, दर्शन र दर्शनशास्त्रका विषयमा केन्द्रीय सदस्य गणेश खनाल, प्रशिक्षण कार्यको महत्वका विषयमा पार्टी स्कुल विभाग जिल्ला अध्यक्ष बालसिंह काउछाले प्रशिक्षण दिएको एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए । राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रदेश कमिटि सदस्य सोमनाथ सापकोटा, उद्यम र उद्यमशीलताका विषयमा प्रदेश कमिटि सदस्य फर्शु पाण्डेले प्रशिक्षण दिएको थिए ।


स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धका विषयमा जिल्ला कमिटि उपसचिव धर्म विश्वकर्मा, जनताको बहुदलीय जनवादका विषयमा स्कुल विभाग सदस्य चक्रबन्धु भुसाल, राजनीतिक अर्थशास्त्रका विषयमा पार्टी स्कुल विभाग सचिव गोविन्द गौतम, महिला सशक्तिकरण, समावेशी र पार्टी नीतिको योगदानका विषयमा प्रदेश कमिटी सदस्य राधिका अर्यालले प्रशिक्षण दिएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीले जानकारी दिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन