गुल्मीमा सवारी चेकजाँच तथा चालकको स्वास्थ्य परिक्षण
गुल्मी –गुल्मी यातयात प्रालिको समन्वय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा सडकमै पुगेर सवारी चेकजाँच तथा चालकलाई स्वास्थ्य परिक्षण अभियानको सुभारम्भ गरिएको छ। सवारी दुर्घटना न्यूनिकरण तथा सवारीको अवस्थाबारे चालकलाई ज्ञान दिने उदेश्य सहित ग्रामिण क्षेत्रमा गुड्ने साना तथा ठुला सवारीको सडककै पुगेर चेकजाँच र चालकको स्वास्थ्य परिक्षण गरिएको हो । पौष ८ गते रेसुंगा नगरपालिका ४ अर्खलेबाट सुरु भएको अभियान यो महिनाभर जिल्लाका विभिन्न स्थानमा संचालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अभियान सुभारम्भ भएको पहिलो दिन ग्रामिण क्षेत्रमा गुड्ने ७२ वटा सवारी चेकजाँच र चालकलाई स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिए । सडककै पुगेर स्वास्थ्यकर्मीद्धारा चालकको स्वास्थ्य परिक्षण र दक्ष प्राविधिकबाट बस, ट्रक, जिप लगायतका बिभिन्न सवारी साधनहरुको चेकजाँच गरिएको थियो ।
बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रशिक्षण दिँदै आएको छ । चालक र सवारी साधानको अवस्था दुर्घटनाको प्रमुख कारक तत्व भएकाले यसको रोकथामका लागि उक्त अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । “चेकजाँचको क्रममा केहि सवारी साधानको अबस्था मर्मत गर्नुपर्ने देखिएको छ । समस्या देखिएका त्यस्ता समस्या देखिएका सवारीको मर्मतसम्भार तत्कालै सवारीधनीले गर्नुहुने छ”, ´बरिष्ठ प्रहरी नायब निरीक्षक शर्माले भने`