बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार



नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ ।

बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । 


Advertisement

उनका अनुसार चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ । “बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौँ”, वडाध्यक्ष न्यौपानेले भने, “जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौँ ।”

वडा नं ५ मा दलित, कुमाल, आदिवासी जनजातिसहितका निम्न तथा श्रमिक वर्गको बाहुल्यता धेरै छ । अहिले जन्मिएका बच्चा वयस्क हुदाँका बखत खातामा केही रकम सुनिश्चित गराउन कार्यक्रमलाई केन्द्रित गराउने वडाध्यक्ष न्यौपानेको भनाइ छ । वडा कार्यालय र सम्बन्धित अभिभावकबाट अहिले पाँच हजारका दरमा बैंक खातामा रकम जम्मा हुने भए पनि निकाल्ने समयमा त्यसको सात÷आठगुणा बढी पुग्ने जानकारी पाएको उनले बताए । 

“वडा कार्यालयले बच्चाको सम्मानमा नगद जम्मा गर्ने कार्यक्रम ल्याएपछि अभिभावकले बच्चा जन्मेको ३५ दिन पूरा नहँदै जन्मदर्ता गराउन थालेका छन्, बच्चाको जन्मदर्ता र बैंक खाता खोलेर आआफ्नो दायित्वको रकम दाखिला गर्ने अभियानमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुने विश्वास छ”, उनले भने । वडा कार्यायलले उक्त कार्यक्रमका लागि आवश्यक बजेट आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ । 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.