गुल्मीमा धर्मको संरक्षण गर्न संयुक्त महायज्ञ लगाइने



गुल्मी –  गुल्मीमा पहिलो पटक दलित र गैरदलित समुदायले संयुक्त रुपमा महायज्ञ लगाउने भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४, बलेटक्सार सङ्गीतटोलका स्वामी अर्जुनकृष्ण दास गन्धर्व थरका दलित समुदायका आध्यात्मिक व्यक्ति हुनुहुन्छ ।

उहाँले आफ्नो निजी खर्चमा यही चैत २७ गतेदेखि २०८१ को वैशाख ०६ गतेसम्म श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ २०८०-०८१ सञ्चालन गर्न लाग्नुभएको हो । यस अघि उहाँले निजी रुपमा करिब ४० लाख रुपियाँ खर्चेर ११ कोठे श्री मानवसेवा माता पार्वती धर्मशालाको भवन निर्माण गर्नुभएको छ । सोही संस्थालाई आयोजक बनाई पण्डित ईश्वरी रेग्मी र स्वामी अर्जुनकृष्ण दासको मुखारविन्दबाट कथा प्रवचन तथा श्रीमद्देवीभागवत नवाह ज्ञान महायज्ञ गर्न लागिएको बिहीबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिका पदाधिकारीहरुले बताएका छन् ।


Advertisement
Advertisement

स्वामी अर्जुनकृष्ण दास गत ६ वर्ष देखि आध्यात्मिक ज्ञान हासिल गर्दै आउनुभएको छ । उहाँले पितृ उद्धार साथै वैदिक सनातन धर्मको संरक्षण गर्ने उद्देश्य राखेर महायज्ञको आयोजना गर्नुभएको र त्यसलाई त्यहाँका सबै समुदायका अगुवाहरुले साथ दिई महायज्ञ सफल बनाउन लागिएको मूल आयोजक समितिका सचिवालय सदस्य जगन्नाथ ज्ञवालीले बताउनुभयो ।

चैत २७ गते उद्घाटन समारोहमा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले धर्मशालाको भवन समेत उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञ अवधिभर कथा वाचन, पाठपारायण हवन तथा राष्ट्रियस्तरका कलाकारबाट भजन कीर्तन, सङ्गीतमय देवलीला, झाँकी, नाकटसहितका कार्यक्रम गरिनेछ । कुनै समय दलितहरुले वेदपुराण पढ्न पाउनु त परै जाओस् छुनसमेत दण्डनीय हुन्छ भनेर तर्साइने गरिन्थ्यो । तर दलित समुदायका स्वामी अर्जुन कृष्णदासले महायज्ञमा वेदपाठ, चण्डीपाठ, रुद्रीपाठ, भागवतपाठ, हवन आदि नृत्य पूजा गर्दै आउनुभएको छ । महायज्ञमा पनि उनी र पण्डित ईश्वरी रेग्मीले संयुक्त रुपमा गर्ने भएपछि जिल्लाका दलित अगुवाहरुले निकै महत्वका साथ लिँदै यस कार्यलाई ऐतिहासिक र उदाहरणीय भन्ने प्रतिक्रिया दिएका छन् ।

पत्रकार सम्मेलनमा दलित अगुवाहरु कृष्ण सुनार, गणेश श्रीपाली, दल बहादुर विश्वकर्मा, आयोजकको तर्फबाट विष्णुबहादुर गन्धर्वलगायत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले यो ऐतिहासिक अवसरमा जिल्लाभरका मात्र नभई छिमेकी जिल्ला र बुटवल काठमाण्डौलगायतका भक्तजनलाई पनि सहभागिताका लागि निमन्त्रणा गर्नुभयो । मूल आयोजक समितिका संयोजक थानप्रसाद श्रेष्ठ रहनुभएको छ । त्यस्तै, सचिवालय सदस्यहरुमा फर्सुराम ज्ञवाली, कमल श्रेष्ठ, अन्जु कँडेल खत्री र जगन्नाथ ज्ञवाली रहनुभएको छ ।

‘धेरै सकिन्छ, धेरै गरौं, थोरै सकिन्छ, थोरै गरौं। जति सकिन्छ त्यति गरौं, केही न केही अवश्य गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुन गइरहेको महायज्ञमा मुनाफाको परिकल्पना नगरिएको तथापि स्वइच्छाले दानवीरहरुले दिने दान अस्वीकार नगरिने ज्ञवालीले बताउनुभयो । स्वामी अर्जुनकृष्ण दासकी बहिनीको अल्पायुमै मृत्यु भएको थियो । उनै बहिनीको स्मृतिमा उनलाई माता सम्बोधन गरी मानवसेवा माता पार्वती धर्मशाला स्थापना बताइएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन