गुल्मीमा ८९ घरगोठ जले, ७५ पशु चौपाया मरे



गुल्मी – गुल्मीमा शनिबार हावाहुरी सहित भएको आगलागीबाट जिल्लाभरमा ८९ वटा घरगोठ जलेका छन् । जिल्लाका १२ स्थानीय तहमध्ये आगोले सबैभन्दा बढि इस्मा गाउँपालिकामा क्षति पुर्याएको छ । एकैदिन भएको भीषण आगलागीले मानवीय क्षति भएको छैन् भने करोडौंको सम्पति गुमेको छ । इस्मा गाउँपालिका २ सिदुङखा र हाडीखोलामा १७ वटा घर र १९ वटा गोठ पूर्ण रुपमा क्षति भएका छन् । त्यस्तै सोही गाउँपालिका ४ स्थित मुर्किना,कोटकोटेरी र हुलमा १० वटा घर पूर्ण जलेका छन् भने १६ वटा गोठमा पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


Advertisement

गुल्मीदरबार गाउँपालिका ६ भलायचौर १ घर जलेर पूर्ण क्षति भएको छ । मुसिकोट नगरपालिका ५ आँपचौर र अर्लाङ्कोटमा ८ घरगोठ जलेका छन् । जसमा आगोमा परेर २ वटा भैँसी घाईते भएका छन् । त्यस्तै हावाहुरी सहितको आगोले मालिका गाउँपालिका ग्लाचौरमा २ वटा गोठ,मदाने गाउँपालिका १ घडेरीमा १० वटा घर र गोठमा पूर्ण क्षति पुर्याएको छ । उक्त दिन जिल्लाभरका विभिन्न सामुदायिक,व्यक्तिगत र सरकारी वनमा आगलागी भएको हो । गर्मीयाम भएकाले आगो नियन्त्रण थप समस्या देखिएको थियो । शनिबार छत्रकोट गाउँपालिका १ हुगामा २ वटा गोठ,रुरु गाउँपालिका १ भटकुवामा २ खाली घर जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

 


धुर्कोट गाउँपालिका ६ करमचाल्ने १ घर जलेको छ भने सोही गाउँपालिका ४ रातापोखरामा १ वटा खाली गोठ पूर्ण क्षति भएको छ । आगलागीमा परेर पूर्ण क्षति भएका घर र गोठ केही खाली थिए भने कतिमा मानिस बसोबास गर्दै आएका थिए । घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाश मुनि बस्न बाध्य छन् । आगोमा परेर ज्यान गुमाएका पशुचौपायाको समेत व्यवस्थापन हुन सकेको छैन । आगलागीले गाउँबस्तीमा पुगेका खानेपानीका पाइप जलेका छन् । आगलागीका कारण गुल्मी गाउँपालिका–२ मा खानेपानीको पाइप पनि जलेको छ । त्यसैले अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् ।

आगोले बस्ती र जंगलमा रहेका हरिया घाँसपात र काठ समेत सखाप पारेको छ । जिल्लाभर एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर समेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार भएको आगलागीमा मानवीय क्षति भएको छैन् । दुई जना घाइते भएका छन् । घाइते हुनेमा इस्मा गाउँपालिका १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ का २१ बर्षीय प्रेम राना घाईते भएका छन् । उनीहरुको अनुहार र हातखुट्टा केहीभाग जलेका छन् । उनीहरुलाई थप उपचारको लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाईएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा,तीनवटा सुरक्षा निकाय,गुल्मी उद्योग वाणिज्य सघं लगायतको सरकारी टोली आगलागी भएको स्थानमा राहत बाकेर पुगेको छ । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएका छ । यतिबेला आगलागी भएका गाउँबस्तीमा पुगेर पिडीतलाई राहत वितरण र मरेका पशुचौपायलाई व्यावस्थापनको काम भईरहेको छ ।

तलबको ५ प्रतिशत रकम आगलागी राहत कोषमा
शनिबार हावाहुरी सहित भएको आगलागीले ठुलो क्षति पुर्यापछि आइतबार अर्थात् वैशाख ९ गते बसेको इस्मा गाउँकार्यपालिकाको बैठक बसेको छ । बैठकले आगलागी पिडीतको लागि केही महत्वपूर्ण निर्णय समेत गरेको छ । गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीबाट मासिक तलबको ५ प्रतिशत रकम आगलागी राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै उद्दार कार्यमा एकद्वार प्रणाली मार्फत व्यवस्थापन गर्न साथै सामग्री उपलव्ध गराउन चाहनुहुनेले गाउँ कार्यपालिकाको कार्यालयमा उपलव्ध गराउन सबैमा अपिल गरिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन