अग्नि पीडितलाई इस्मा गाउँपालिकाले एक/एक लाख दिने



गुल्मी – अग्नि पीडितको घर निर्माणको लागि इस्मा गाउँपालिकाले प्रति परिवार एक/एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ । बैशाख १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र पूर्णरुपमा क्षति पुगेका घरपरिवारलाई तत्काल एक/एक लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए ।

शनिबार हावाहुरीसहित लागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन् । आगलागीबाट एक सय ९९ नागरिक प्रभावित भएका छन् । बर्खायाम सुरू हुन थालेकाले अग्नि पीडित परिवारलाई घर निर्माणको लागि प्रतिपरिवार एक लाख सहयोग गर्न लागिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।


Advertisement

अध्यक्ष खड्काका अनुसार अग्नि पीडित परिवारको घर निर्माणको कार्य तत्कालै सुरु गरेर अन्य ठाउँबाट समेत स्रोत जुटाउन सबैको प्रयत्न जारी रहनेछ ।  आगलागी भएको अर्कोदिन बसेको गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधि र कर्मचारीबाट मासिक तलबको ५ प्रतिशत रकम पीडितलाई राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको थियो ।

जनप्रतिनिधिबाट पाँच लाख छ हजार र कर्मचारीको एक लाख ५७ हजार गरेर कूल छ लाख ८३ हजार हुने इस्मा गाउँपालिकाका लेखा अधिकृत अशोक कुमार खड्काले जानकारी दिए । अग्नीपीडित परिवारले मौसमज जन्य विपत्अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा चार लाख रुपैयाँ र गाउँपालिकाको एक लाख गरी प्रतिघर परिवारले पाँच लाख रुपैयाँ पाउनेछन् ।

अग्नी पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पूर्ण क्षति भएका प्रत्येक घरपरिवारलाई तत्काल राहत स्वरुप प्रति घर २० हजार रकम प्रदान गरिएको छ भने यतिबेला सरकारी तथा गैरसरकारी संघसंस्थाले जीन्सी र नगद उपलब्ध गराइरहेका छन् । उनले राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोग र नगद रकम राहत कोषमा उपलब्ध गराउन अनुरोध समेत गरेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.