गुल्मी काङ्ग्रेसले अग्नि पीडितलाई दुई लाख सहयोग गर्ने
गुल्मी – नेपाली काङ्ग्रेस गुल्मीले आगलागी पिडितलाई दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । शनिबार जिल्लाको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उक्त रकम सहयोग गर्न लागिएको गुल्मी काङ्ग्रेसले जानकारी दिएको हो ।
बैशाख ८ गते शनिबार हावाहुरी सहित भएको भीषण आगलागीबाट पुर्ण क्षती पुर्याएका पीडितलाई राहत तथा पुनर्निर्माणको लागि उक्त रक सहयोग गर्न लागेको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ । जिल्लाभर आगलागी भएका स्थानमा पुगेर घटनाको प्रकृति हेरेर थप सहयोगका कार्यक्रम अगाडी बढाउने गुल्मी काङ्ग्रेसको तयारी छ ।
समाज र समुदाय घट्ने कुनैपनि विपत्तिहरुमा मुलुकको ठूलो र जिम्मेवार पार्टी नेपाली काङ्ग्रेस सदैव नागरिकका समस्यामा मलमपट्टी लगाउन तयार रहेको नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख समेत रहेका पन्थीले नागरिकको हरेक दु:खमा मलमपट्टी लगाउनु सबै नेपालीको कर्तव्य र दायित्व रहेको बताए । आगलागी पीडितको वर्तमान अवस्था र समस्या केलाउदै नेपाली काङ्ग्रेस गुल्मी तत्काल उद्वार र पुनर्निर्माणको कामलाई छिटो गर्न समेत आग्रह गरेको छ ।
राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकाेटा, नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सभापति त्रैलोक्य प्रताप सेन, जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी कुँवर, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कल्पना पन्थी लगायतको टोलीले आगलागी पीडित बस्ती र नागरिक समक्ष पुगेर त्यहाँको वर्तमान अवस्था र समस्याका बारेमा बुझेका छन् ।