गुल्मीका ८० वटा सामुदायिक वनमा आगलागी,आगो लगाएको आरोपमा दुईजना पक्राउ



गुल्मी –  गर्मीयाम बढेसंगै गुल्मीमा आगलागीका घटना दैनिक बढिरहेका छन् । पछिल्लो समय जिल्लाका १२ वटै स्थानीय तहमा रहेका सरकारी,सामुदायिक तथा व्यक्तिगत वनमा आगलागी भईरहेको छ । आगलागीका कारण जिल्लाभर दर्जनौं घर गोठ जलेर पूर्ण क्षति भएका छने भने कयौं घरगोठमा आंशिक क्षति पुगिरहेको छ । आगोका कारण सयौं वन्यजन्तु तथा पशुचौपायले ज्यान गुमाएका छन् । बढ्दो गर्मी र नागरिकमा जनचेतनाको कमीका कारण जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना बढ्दै गएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ वन अधिकृत पंकजकुमार ठाकुरले बताए । उनका अनुसार हालसम्म जिल्लाभर ८० सामुदायिक वनमा आगो लागेको छ भने २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएकोे छ ।

आगलागी घटनाको कारण र नियन्त्रणमा भइरहेका पहलका बारेमा मंगलबार जिल्लास्थित संचारकर्मीसंग डिभिजन वन कार्यालय गुल्मीले अन्तरक्रिया समेत गरेको छ । अग्नि नियन्त्रणको लागि तीनै तहका सुरक्षाकर्मी र रेसुंगा नगरपालिकालाई कार्यालयले आवश्यक सामाग्री हस्तान्तरण गरिसकेको छ । डढेलो नियन्त्रणको लागि समुदायस्तरमा जनचेतना फैलाउन र  सबै एकजुट भएर लाग्न समेत वरिष्ठ वन अधिकृत ठाकुरले आग्रह गरेको छन् । गतबर्ष जिल्लाभर १ सय ८ वटा सामुदायिक वनमा आगलागी हुँदा २२ सय हेक्टर क्षेत्रफल नष्ट भएकोे थियो ।


Advertisement

वनमा आगो लगाउने दुइजना पक्राउ
बढ्दो आगलागीका कारण गुल्मीकोे वातावरण धुवाँमय बन्दा वायु प्रदूषण बढेको छ । एक सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका –७ स्थित सिस्न्यारा पातल सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी छन् ।

गत बैशाख ७ गते उक्त सामुदायिक वनमा आगलागी हुँदा बोटविरुवा र वन्यजन्तुमा ठुलो क्षति पुगेको थियो । आरोपी दुवै जनाले वनमा आफूहरुले आगो लगाएको स्वीकार गरिसकेका छन् । आगलागी घटनाबारे उनीहरुबाट थप अनुसन्धान भईरहेको छ । उनीहरुलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । वनमा आगो लगाउने व्यक्ति पुष्टि भएमा ३ बर्ष कैद र ६८ हजार जरिवान वा दुवै सजाय हुन सक्ने कार्यालयले जनाएको छ ।

पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनु अघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागी भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जनाकारी दिए ।
प्राय ः दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा आगलागी भईरहेका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जनाकारी दिए । आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.