नेपाल औषधी व्यवसायी संघको पूर्ण बैठक रेसुङ्गा यज्ञशालामा हुने
गुल्मी – नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको पूर्ण बैठक गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगा यज्ञशालामा गरिने भएको छ । यहि बैशाख २८ गते नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको पूर्ण बैठक ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगामा आयोजना गरिएको नेपाल औषधी व्यवसायी संघ गुल्मीका अध्यक्ष फर्शुराम पाण्डेले जानकारी दिए ।
बैठकमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलको उपस्थितिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला शाखा अध्यक्षहरु, पाँच नम्बर प्रदेश समिति १९ सदस्यीय टिम यज्ञशालामा आउने बताइएको छ । रेसुंगा यज्ञशाला परिसरमा हुने नेपाल औषधी व्यवसायी संघको पूर्ण बैठकको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पूर्ण बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला शाखाहरुका अध्यक्षहरुद्वारा लिखित प्रतिवेदन पेश गर्ने र त्यसमाथि समसामयिक विषयमा छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको छ । सो निर्णयलाई प्रदेश समितिले आवश्यक योजना बनाई लागु गर्नेछ ।
औषधी व्यवसायी संघको हरेक तीन–तीन महिनामा प्रदेश समितिको पूर्ण बैठक हुँदै आएको छ । यस अघि प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर परिसरमा पूर्ण बैठक गरिएकोमा यस पटक रेसुंगा यज्ञशाला परिसरमा गर्न लागिएको पाण्डेले जानकारी दिए । साँझ स्थानीय भजन मण्डलीद्वारा भजनकिर्तनमा सहभागी गराउने गरी तयारी थालिएको छ । बैशाख २९ गते नेपाल औषधी व्यवसायी संघको जिल्ला कार्य समितिको अधिवेशन गर्ने र व्यवसायी संघको साखिने डाँडामा अवस्थित आफ्नै भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।
सोही बैठकको तयारीका लागि शनिबार रेसुंगा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद शर्मा पन्थी, कोषाध्यक्ष नेत्र बहादुर बस्नेतको बिशेष सहभागितामा नेपाल औषधी व्यवसायी संघ गुल्मीको पूर्व तयारी बैठक यज्ञशालामा सम्पन्न गरिएको छ । रेसुंगाको प्रचारप्रसारका लागि यज्ञशाखामा पूर्ण बैठक आयोजना गर्न लागिएको औषधी व्यवसायी संघ गुल्मीका अध्यक्ष पाण्डेले जानकारी दिए ।