विश्व खेल र संगीतमा अगाडी बढेको छ : सांसद भण्डारी



गुल्मी – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले विश्व खेल र संगीतमा अगाडि बढेको बताएका छन् ।सोमबार रेसुङ्गा नगरपालिका गुल्मीले आयोजना गरेको “प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता २०८१” को उद्घाटन गर्दै नेता भण्डारीले खेलमा देशको समृद्धि र आर्थिक विकास रहेको बताए । उनले देश बिदेशमा युवालाई जोड्ने माध्यम भनेकै खेल रहेको बताएका छन् । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भुमिका खेल्ने बताउँदै नेता भण्डारीले पछिल्लो समय नेपालमा निजी लगानीमा रंगशाला बनेकोमा खुसी व्यक्त गरे ।

‘एकातिर अहिले बिदेशमा जाने युवाको एयरपोर्टमा लर्को देख्छौं’,‘उनले भने’ ‘अर्कोतिर खेललाई माया गर्नेको जमात उस्तै छ त्यसैले खेलको विस्तार र खेलाडीको संरक्षण गर्ने दायित्व राज्यको हो।’ स्थानीय तहमा हुने हरेक कार्यक्रममा युवालाई सहभागी बनाएर राष्ट्रिय खेलाडी उत्पादन गर्नेमा तीनै तहका सरकार लाग्नुपर्नेमा सांसद भण्डारीले जोड दिए । खेलाडीलाई हौसला प्रदान गर्न र नयाँ खेलाडी उत्पादन गर्न मेयर कप प्रभावकारी भएको उनले बताएका छन् ।


Advertisement

गुल्मीमा आजदेखि “प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता २०८१” सुरु भएको छ । रेसुङ्गा नगरपालिकाद्धारा आयोजित प्रथम मेयरकप प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् ।पहिलो दिनको खेलमा नगरपालिकाका वडानम्बर १० र १२ का खेलाडी खेल्ने छन्। त्यस्तै सोही दिन वडानम्बर ९ र १३ विच खेल हुनेछ । बैशाख २४ गतेबाट सुरु भएको खेल २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा विजेताले नगद ३५ हजार,मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले २५ हजार,मेडल र प्रमाणपत्र पाउने नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा १६ जना खेलाडी,१ जना कोच र १ जना अफिसियल सहित १८ जना एक समूहमा सहभागी हुनेछन् । प्रथम मेयरकपमा नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउने छन । यस प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेलको विकासमा थप टेवा पुग्ने रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।मेयर कपले स्थानीय खेलाडी पहिचान गरी राष्ट्रिय खेलाडी उत्पादन गर्ने नगरपालिकाले लक्ष्य लिएको नगरप्रमुख पन्थीले जानकारी दिए ।

रेसुङ्गा मेयरकप फुटबल प्रतियोगितालाई निरन्तरता दिइने उनको भनाई छ । भोली अर्थात् वैशाख २५ गते पहिलो पटक रेसुंगा नगरपालिकाले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ । सोही अवसरमा “प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन