खुसीको खबर : रेसुङ्गाबाट साप्ताहिक चार उडान हुने
गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलबाट थप उडान हुने भएको छ । पछिल्लो समय जिल्लामा यात्रुको चाप बढेसंगै साप्ताहिक चार उडान हुने नेपाल एयरलाइन्स रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
यस विमानस्थलबाट प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार नेपाल एयरलाइन्सले उडान भर्दै आएको छ । यो हप्तादेखि शनिबार थप गरी साप्ताहिक चार उडान हुने एयरलाइन्सले जनाएको छ ।
गुल्मीदेखि काठमाडौंका लागि सात हजार ८० रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडादर
तोकिएको छ । जिल्लाबाट एक वर्षको अवधीमा करिब ७० वटा उडानमा ८ सय बढी नागरिकले हवाई सेवा लिएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख थापाले बताए ।
हवाई सेवा लिनेहरुमा बृद्ध, बिरामी, सुत्केरी, लगायतका नागरिक रहेका छन् । गुल्मी हवाई यात्रामा जोडिएसँगै पछिल्लो समय जिल्लामा रहेका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटक भित्रिन थालेका छन् । विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एअरलाइन्सको टुइनेटर जहाजले उडान गर्दै आएको छ ।
रेसुङ्गा विमानस्थलमा विमान उडानको लागि बिहानी समय उपयुक्त मानिएको छ । हप्तामा चार दिन नियमित उडानको खबरले गुल्मीबासीमा थप उत्साह छाएको छ ।