गुल्मीमा जीवन बाबुको स्मृतिमा भवन शिलान्यास
गुल्मी – नवप्रगतिशिल युवा क्लव गुल्मीले स्वर्गीय जीवन बाबु पन्थको स्मृतिमा भवन निर्माण गर्ने भएको छ । मंगलबार जिल्लाको छत्रकोट गाउँपालिका –३ हर्दिनेटामा भवनको
शिलान्यास गरिएको नवप्रगतिशिल युवा क्लवले जनाएको छ ।
वैशाख २५ गते प्रथम स्मृति दिवसको अवसरमा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले भवनको शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै स्वर्गीय जीवन बाबुले देखाएको बाटो समाज सुधार र प्ररेणादायी रहेको गाउँपालिका अध्यक्ष पाण्डेयले बताए । स्वर्गीय पन्थले विगतमा
गरेको सत्कर्म र समुदायलाई दिएको योगदानको सधै स्मरण गरिरहने बताउँदै उनले भवन निर्माणको बेला क्लवलाई पर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्ध समेत गरेका छन् ।भवन निर्माणको लागि केही आर्थिक अभाव देखिएकाले देश तथा विदेशमा
रहनुहुने सबैले आर्थिक र भौतिक रुपमा सक्दो सहयोग गर्न कार्यवाहक अध्यक्ष वैकुण्ठ कंडेलले आग्रह गरे । गाउँपालिकाले भवन निर्माणको लागि आवश्यक र क्लवलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
क्लवले गाउँपालिकाबाट विनियोजन भएको रकम र सहयोग संकलन गर्दै भवन निर्माण गर्न थालेको हो ।समाज परिर्वन र विकास निर्माणमा अग्रसर हुने एक होनाहार युवा सिंगो गाउँपालिकाले सधैको लागि गुमाएको नवप्रगतिशिल युवा क्लवका संस्थापक अध्यक्ष जनक पन्थले बताए । “स्वर्गीय जीवन समाजमा गरेको सत्कर्मका कारण सबैको मनमा बस्न सफल थिए’, ‘उनले भने’ ‘उनी त्यस्तो युवा थिए,जसले समाजमा हुने विकास निर्माणमा योगदान र हरेक विपत्तिमा क्लवको माध्यमबाट सबैलाई सहयोग गरिरहन्थे,उनको अभाव हामीलाई सधै रहेरहने छ ।” गतबर्ष वैशाख २५ पाल्पाको झुम्सामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदाँ जीवन बाबुले ज्यान गुमाएका थिए ।