बुटवल नयाँगाउँमा हुने प्रथम साँस्कृतिक रमाइलो मेलाको तयारी पूरा
बुटवल- फर्वाड नेपाल मल्टिपर्पाेज कम्पनीको आयोजनामा रुपन्देहीको बुटवल नयाँगाउँमा प्रथम साँस्कृतिक रमाइलो मेला २०८१ लाग्ने भएको छ । बिहिवारदेखि १६ दिनसम्म साँझमा लाग्ने मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मेला प्रत्येक दिन अपरान्ह चार बजेदेखि राती १० बजेसम्म लाग्ने छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने मेला आयोजक मुल समितिका संयोजक गोविन्द भुसालले जानकारी दिए ।
मेलामा विभिन्न प्रकृतिका २५ स्टलहरु राखिने भएको छ । सम्योजक भुसालका अनुसार झण्डै ४४ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ । मेलामा रेष्टुरेन्ट, खाद्यान्न, गार्मेन्ट लगायतका स्टल र बाल उद्यान समेत राखिने छ । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ७० रुपैयाँ प्रवेश शुल्क राखिएको संयोजक भुसालले बताए ।
मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्था लगायतले सहयोग गरेका छन् । सह–आयोजकमा बुटवल उपमहानगरपालिका १२ र १३ वडा कार्यालय रहेका छन् । मेलामा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, प्रकाश दुतराज, धुर्मस सुन्तली, पल शाह लगायतले प्रस्तुति दिनेछन् । डान्स आइडलमा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।