रेसुङ्गामा जिपलाइन र स्काई साइकिलिङ निर्माणको तयारी
गुल्मी – गुल्मीको ऎतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन र स्काई साइकिलिङ निर्माण गरिने भएको छ। रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले फेसबुक स्टाटस मार्फत जिपलाइन र स्काई साइकिलिङको पुर्वाधार निर्माणको लागि बजेट बिनियोजन भैसकेको जानकारी दिएका छन् ।
संघीय सरकारबाट जाउँ हिँड रेसुङ्गा अभियान अन्तर्गत पर्यटन पूर्वाधारको विकासका निम्ति उक्त आयोजनाको लागि करिब एक करोड ४२ लाख बराबरको बजेट व्यवस्थापन गरेको नगरप्रमख खिलध्वज पन्थीले बताए ।
बजेट सुनिश्चित भएपछि अब खरिद प्रक्रिया तत्काल अगाडि बढ्ने तयारी भएको नगरप्रमुख पन्थीले जानकारी दिए ।रेसुङ्गा घुम्न आउने पर्यटकलाई रेसुङ्गा मन्दिर संगै नगरपालिकाले निर्माण गरेको रेसुङ्गा पार्कले अहिले पर्यटक आकर्षित गरिरहेको छ । हाल पर्यटकीय पूर्वाधारका लागि बजेट सुनिश्चित भएकोमा जिपलाइन र साइकिलिङ बनेपछि पर्यटकको थप मुख्य गन्तव्य बन्ने नगरप्रमुख पन्थीले बताए । पुर्वाधार निर्माणले रेसुङ्गा पर्यटकीय चहलपहल र जिल्लाको सदरमुकाम तम्घासमा व्यापार व्यावसाय थप मद्दत पुग्ने नगरपालिकाले अपेक्षा लिएको छ ।