गुल्मी एमालेको अधिबेशन : नेतृत्व चयनको लागि मतदान सुरु
गुल्मी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनको लागि निर्वाचन सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित एमाले पार्टी कार्यालय मदन आश्रीत स्मृति भवनमा पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन सुरु भएको हो ।
बुधबारदेखि बिहिवार दिउँसोसम्म नेतृत्व चयनमा सहमतिको लागि छलफल चलिरहेपनि आकांक्षीले आफ्नो अडान नछोडेपछी मतदानबाटै नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ ।
बिहिवार दिउँसो ३ बजे अन्तिम उम्मेदवारको नामावली समेत सार्वजनिक गरेर मतदान सुरु भएको हो । निर्वाचन समितिले दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । तर, भर्खरै मतदान सुरु भएकाले निर्धारित समयमा मतदान नसकिने प्रतिनिधिले बताएका छन् ।
१२ औं अधिवेशनका लागि जिल्लाका ९३ वटाबाट प्रतिनिधि छनोट भएर तम्घासमा आएका छन्। त्यस्तै अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधि रहेपनि कार्यक्रममा ६१३ जना प्रतिनिधि सहभागी छन्।
अधिवेशनमा नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली,सचिव गोकर्णराज विष्ट लगायत केन्द्र र प्रदेशका केही नेता गुल्मीमै छन्। जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष बालसिंह काउछा र लुम्बिनी प्रदेश सदस्य हिरा अर्याल क्षत्री (एसी) उम्मेदवार बनेका छन् । त्यस्तै उपाध्यक्षमा गणेश श्रीपाली ,जीवन खरेल रहेका छन्। पार्टीको जिल्ला सचिवमा धर्म विश्वकर्मा,पदमप्रसाद अर्यालले उम्मेदवारी दिएका छन् ।
महिला उपसचिवमा लक्ष्मीदेवि पन्थ सर्वसम्मत निर्वाचित भएकी छन् । त्यस्तै सदस्यहरु केही सर्वसम्मत निर्वाचित भएका छन् भने कतिको मतदान भइरहेको छ ।
निर्वाचनमा पदाधिकारीबीचमा कडा भिडन्त हुने अधिवेशन प्रतिनिधिहरूले बताएका छन। ‘विभिन्न चरणमा छलफल र सहमतिको प्रयास जारी भएपनि एक अर्काले दाबी नछोडेपछि निर्वाचनमा पुग्नु परेको एमालेका एक नेताले बताए। यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नै नेतृत्व चयन हुने देखिएको छ। नेताहरू पनि आफू पक्षका कार्यकर्तालाई उम्मेदवार बनाउने र जिताउने रणनीतिमा सक्रिय बनेका छन्।
अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ। जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ। गुल्मीमा १० हजार बढी संगठित सदस्य रहेको पार्टीले जनाएको छ।