देशभर दोस्रो र लुम्बीनी प्रदेशमै पहिलो बन्यो रुरुक्षेत्र गाउँपालिका
गुल्मी – स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका देशभरमै उत्कृष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९÷०८१ मा गरेको स्वमूल्यांकन प्रणाली (लिजा) मा रुरुक्षेत्र गाउँपालिका देशभरमै दोस्रो बनेको हो । देशका चार सय ६० गाउँपालिका मध्ये दोस्रो बनेको रुरुक्षेत्रले ८७ अंक प्राप्त गरेको छ । स्थानीय तह सुशासन स्वमूल्यांकनमा पेश भएका विभिन्न सूचकका आधारमा रुरुक्षेत्र गाउँपालिका लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको हो ।
गाउँपालिकाले गरेका हरेक क्रियाकलाप व्यवस्थित अभिलेखिकरण गरेका कारण देशभरमै दोस्रो र प्रदेशमा पहिलो बन्न सफल भएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । आर्थिक बर्षभर पालिकाले संचालन गरेका नीति तथा कार्यक्रम, गाउँसभाका निर्णय,कार्यपालिका वैठकका निर्णय, गाउँपालिकाको बजेट खर्च,कर्मचारीले सम्पादन गुर्नपर्ने क्रियाकलाप लगायतका कार्यको व्यवस्थित अभिलेख राखेका कारण यो नजिता आएको प्रशासकीय अधिकृत पाण्डेले बताए । उनले देशभरमै दोस्रो र लुम्बीनी प्रदेशमा पहिलो नतिजा ल्याउनमा सहयोग गर्ने सबैमा धन्यवाद दिदैं खुसी व्यक्त गरे । रुरुक्षेत्र गाउँपालिकालाई आगामी बर्ष देशमै पहिलो बनाउने लक्ष्यका साथ आफूहरु अगाडी बढिरहेको उनले बताए ।
मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङ बेनीघाट रोराङ गाउँपालिका देशभरमै पहिलो बनेको छ । जसले ८७.२७ अंक प्राप्त गरेको छ । त्यस्तै गुल्मीको रुरुक्षेत्र र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले बराबर अंक प्राप्त गरेर देशभरमै दोस्रो बनेका छन् ।दोस्रो स्थान हासिल गरेको सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ ।स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्रहरु शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् ।
ती विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । प्रत्येक सूचकका लागि एक÷एक अङ्क निर्धारण गरिएको छ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ । मन्त्रालयले स्थानीय तहको कार्यप्रकृया,उपलब्धीहरुको बारेका लेखाजोखा गरी सवल र दुर्बल पक्षको पहिचान,विकास र सुशासनमा देखिएका कमी कमजोरी स्वमूल्यांकन गर्ने गर्दछ ।
त्यस्तै देशभरका नगरपालिका मध्ये धादिङको नीलकण्ठ नगरपालिका पहिलो बनेको छ । जसले ९२.५ अंक पाएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो बनेको छ । तिलोत्तमाले ९२ र रत्ननगरले ९१.५० अंक प्राप्त गरेका छन् ।